
आइतवार , श्रावण ३२, २०७७
भैरहवा, ३२ साउन ।
नेपाल आयल निगम लिमिटेडका थप १० जनामा आइतबार कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
निगमको भलवारी डिपोका ३, भैरहवा पेट्रोल पम्पका ३ र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको आयल निगम लिमिटेड ५ नम्बर प्रादेशिक कार्यालय, भलवारी, रुपन्देहीका प्रमुख इञ्जिनियर सुरज साहले खबरपात्रोलाई बताए ।
‘भलवारी डिपो, भैरहवा पेट्रोल पम्प र हवाइ इन्धन डिपो गरी करिब ७० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएका थियौं, जसमध्ये आज आएको रिपोर्ट अनुसार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, उनले भने ।’ निगमका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि हाललाई पम्प बन्द गरिएको उनले बताए ।
‘निगमका कर्मचारीलाई कोरोना संक्रमण देखिएको सम्बन्धमा केन्द्रीय कार्यालयलाई पत्राचार गरेका छौं, थप निर्देशन आएपछि अगाडी बढ्छौं, साहले भने ।’
नेपाल आयल निगम पेट्रोल पम्प, भैरहवाका प्रमुख गोविन्द चौधरीले कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि हाललाई पम्प बन्द गरिएको बताए । यस अघि पनि गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij