सोमवार , मंसिर २९, २०८२
बुटवल, २९ मंसिर । रुपन्देहीको बुटवलस्थित बुटवल माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह–२०८२ सम्पन्न भएको छ । वि.संं २००८ सालमा स्थापित यो विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शैक्षिक क्षेत्रको प्रगतिका लागि सरकार, शिक्षक, अभिभावक र स्थानीय समुदायसहित सबैको प्रभावकारी भुमिकाको खाँचो औंल्याउनुभयो ।
विद्यालयको शैक्षिक उन्नतिका लागि स्थानीय सरकारकोतर्फबाट हरप्रकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख पाण्डेयले प्रदेश र संघीय सरकारमार्फत पनि आवश्यक सहयोग उपलब्ध गराउन समन्वयकारी भुमिका खेल्ने जिम्मेवारी समेत आफूले लिने घोषणा गर्नुभयो । तर, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायस्तरबाट खेल्ने प्रभावकारी भूमिकाका लागि पनि सबै तयार रहन र शैक्षिक गुणस्तर वृद्धिका लागि हरसम्भव प्रयास गर्न उहाँले आग्रह गर्नुभयो ।
पूर्व जिल्ला शिक्षा अधिकारी तथा विद्यालयका सल्लाहकार टेकबहादुर थापाले विगतमा बुटवल र आसपास क्षेत्रका साथै साविकको लुम्बिनी अञ्चलकै शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्याएको विद्यालय पछिल्लो समय कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यति ठुलो इतिहास बोकेको विद्यालयले विभिन्न समस्या भोग्नुपरेको अवस्थाका बारेमा गुनासो गर्दै पूर्व जिशिअ थापाले समस्या समाधानका लागि गम्भिर हुन सबैलाई आग्रह गर्नुभयो ।
बुटवल उपमहानगर वडा नम्बर १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले बिद्यालयको विकासका लागि पहिले बजेटको समस्या रहेकोमा अहिले बजेटको समस्या नभएप नि कार्यान्वयनको पक्ष कमजोर देखिएको उल्लेख गर्नुभयो । विद्यालयको विकासमा स्थानीय समुदायले खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्दै अध्यक्ष बस्नेतले स्थानीय सरकार र समुदायको सहयोगमा शैक्षिक गुणस्तर थप प्रभावकारी बनाउने लक्ष्य लिएर योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद प्रधानले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार विकासका लागि बजेट कार्यान्वयनको पक्षलाई प्रभावकारी बनाउन हरदम प्रयास गरिएको जानकारी दिनुभयो । उहाँले अभिभावक र शिक्षक सहकार्य, विद्यार्थी र अनुशासनबीच अन्तरसम्बन्ध कायम राख्दै सामाजिक जिम्मवारीलाई पनि प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीले शिक्षा क्षेत्रमा देखिएको तीव्र प्रतिष्पर्धा र प्रविधिको विकाससँगै बुटवल मा.वि.ले पनि गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुधार, भौतिक संरचना विस्तार र सहपाठ्यक्रम गतिविधि सञ्चालन र सुदृढीकरणमा ध्यान दिन थालेको बताउनुभयो ।
पूर्वअध्यक्ष रामेश्वर श्रेष्ठ, सहायक प्रधानाध्यापक यज्ञ प्रसाद सापकोटा, एकदेव रिजाल लगायतले सामूदायिक सहभागीतामा आधारित विद्यालय भएकोले समुदायकै अगुवाइ र सक्रियतामा विद्यालयको विकास सम्भव भएको बताउनुभयो । यस विद्यालयमा अध्ययन गरेका थुप्रै विद्यार्थी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती आर्जन गर्न सफल भएका छन् ।
कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याउने शिक्षक, अभिभावक, स्थानीय समाजसेवी लगायतलाई सम्मान गर्नुका साथै शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij