आइतवार , मंसिर २८, २०८२
भैरहवा, २८ मंसिर । लुम्बिनी शिक्षा निकेतन र रुपन्देही लीलाराम माध्यमिक विद्यालय रुपन्देहीको भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले जेसीज बोर्डिङ सेकेण्डरी स्कूललाई २९ रन र रुपन्देही लीलारामले स्प्याङ्गल स्कूललाई १ सय ४१ रनले पराजित गर्दै सेमीफाइनलको यात्रा पक्का गरेका हुन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शिक्षा निकेतनले ६ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि बासुदेव यादवले ४४, जाभेद खानले ३२, अलिउद्दिन खानले १८ र आजाद खानले नटआउट १० रन बनाए । बलिङमा जेसीजका आमोद बस्यालले २ तथा शिशिर घिमिरे र प्रथम जीएमले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको जेसीजले ९ विकेट गुमाएर ९८ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि सम्राट राईले २४, आसिफ रहमानले १८ र सरजाद आलमले ११ रन बनाए । बलिङमा लुम्बिनी शिक्षा निकेतनका तौफिक अहमद र अफसल खानले ३–३ तथा अफताब खानले २ र सफिउल्लाह खानले १ विकेट हात पारे । तौफिक अहमद प्लेयर अफ द म्याच भई पाँचसय रुपैयाँ प्राप्त गरे ।
त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देही लीलारामले ९ विकेट गुमाएर १ सय ७५ रनको बलियो योगफल बनायो । उसका लागि अजय केवटले ६१ रन अर्धशतकीय पारी खेले । यस्तै, प्रेमसागर यादवले २५ र आयन खानले २२ रन बनाए । बलिङमा स्प्याङ्गलका कृष्ण कोइरी र राजन यादवले २–२ तथा निरज कलवार र अर्मन खानले १–१ विकेट लिए ।
प्रतिउत्तरमा स्पांगल ११ ओभर २ बलमा ३४ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा लीलारामका फैजन खानले ४, आयन खानले ३, कृष्णमोहन कुर्मीले २ तथा प्रेमसागर यादवले १ विकेट हात पारे । स्पांगलका अभी चौधरीले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अजय केवट प्लेयर अफ द म्याच भइ पाँचसय रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको विजेता टीमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए । त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुशासित टीमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्नेछ । प्रतियोगितालाई पर्वत ज्वेलर्स बैंकरोड, भैरहवाले प्रायोजन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij