सोमवार , मंसिर २२, २०८२
कवि विमल गुरुङको सम्झनामा लेखिएको जीवनकथा पढेपछि धेरैबेर भावुक भएँ । १८० पृष्ठको सानो तर, गहन पुस्तक पढेपछि मनमा अनेक तरंग पैदा हुनु स्वभाविक नै हो ।
२० वर्षको कलिलो उमेरमा सडक दुर्घटनामा जीवन गुमाएका उनले सानै उमेरमा उत्कृष्ट कविता सिर्जना गरिसकेका थिए । केही लेखहरु पत्रिकामा छापेका थिए । पढेका पुस्तक र हेरेका फिल्मका उनीद्वारा गरिएका सटिक समीक्षा समेत भेटिन्छन्, आफ्नै डायरीमा ।
एसएलसी समेत पूरा नगरेका उनमा स्वाध्ययन गर्ने गुण अति नै थियो । विलक्ष्मण प्रतिभाका धनी विमलले राजनीति, साहित्य र समाजसेवालाई एकै दरमा अघि बढाइरहेका थिए ।
विमलको दैनिकी, उनका साहित्यिक एवं राजनीतिक गतिविधिलाई गहन अध्यनन र सोधीखोजी गरी “कवि विमल गुरुङ मिर्मिरेमा झरेको तारा” नामक पुस्तक कवि एवं साहित्यकार चन्द्र गुरुङले मिहिनेतका साथ लेखेका छन् ।
विमलका निरक्षर बाबा पूर्णबहादुरले छोराको स्मृतिमा धरानको बुद्वचोक नजिकै कवि विमल गुरुङ स्मृति पुस्तकालय खोलेका छन् । जहाँ १५ हजार पुस्तकहरु, हजारौै पत्रिका, बुलेटीन संग्रहित छन् । त्यति मात्र होइन दिंवगत विमलको प्राणवायु पुस्तकालयमा अल्झिरहेको छ कतै । पुस्तकका पानामा पूर्णबहादुरले विमलको धड्कन भेट्छन् । धूला लागेका पुस्तकहरु सफा गरिरहँदा सानामा विमलकै अनुहार धोइदिएझै उनका बाबाले अनुभव गर्छन् ।
बामपन्थी आन्दोलनमा विमलको छोटो समयको सहभागीता, साहित्य यात्रामा कम समय तर, दीर्घकालीन छापले सधैंभर विमललाई हामीले भुल्न सक्ने छैनौं । समय र समाज अनुरुपका कविता लेख्ने उनको खुबीको जति नै प्रशंसा गरे पनि कमी नै हुनेछ ।
विमलका आमा सरस्वती र बाबा पूर्णबहादुरले पुस्तकालयलाई नै छोराको घिड्किसो मेट्ने तीर्थस्थल बनाएका थिए । सरस्वतीले समेत पुस्तकालयलाई २०७२ मा श्रीमान् पूर्णबहादुरको जिम्मा लगाएर सदाका निम्ति बिदा भइसकेकी छिन् ।
यता पश्चिमतिर धेरैले विमललाई चिन्दैनन् पनि । उनी २०२८ सालमा धरानमा जन्मिएर २०४८ मा सडक दुर्घटनामा दिंवगत भएका होनाहार कवि थिए । सानैदेखि कविता लेख्ने, साथीहरुलाई सुनाउने र तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध कवितामार्फत् जेहाद छेड्ने एक सक्षम क्रान्तिकारी कवियोद्वा समेत थिए ।
राजनीति बुझेका थिए । दीनदुःखीको सेवामा समर्पित विमलले स्वाध्ययनमा बढी ध्यान दिएका थिए । समाज बुझ्न गतिशील थिए । समाजका हरकुरा अक्षरमा उन्थे र शब्दमा गुथेर सुगन्धरुपी कविताका माला समाजलाई नै समर्पण गर्थे । त्यी नै कविलाई हामीले देख्न पाएनौं । उनका कविता उनकै मुखारबिन्दबाट श्रवण गर्न भ्याएनौं । तर, कवि चन्द्र गुरुङले कवितात्मक लयमा विमलको जीवनी दुरुस्तै उतारेका छन् पुस्तकमा । पढ्दा, कविता पढेजस्तै लाग्छ । यतिबेलाको गिनेचुनेका कविहरुमध्ये चन्द्र गुुरुङको नाम शीर्ष भागमा भेटिन्छ ।
पूर्णबहादुरले कमाएकोमध्ये आधा सम्पत्ति पुस्तकालय बनाउन, पुस्तक खरिद गर्न र व्यवस्थापनमा नै खर्च गरेका छन् । २८ वर्ष करिव लाहुरे जीवनमा हतियार, बमबारुदसँगै दिन काटेका पूर्णबहादुरलाई लागेको थिएन–विमलले कलिलै उमेरमा आफू, आफन्त र संसार छाडेर जानेछ । र, उसकै नाममा पुस्तकालय स्थापना गरि जीवनभर पुस्तकसँगै उसैलाई कुरेर बस्नुपर्ने छ !
पूर्णबहादुरकी छोरी शान्ति छिन् काठमाडौंमा तर, धरान –१८ बुद्वचोकमा आफू झन् पुस्तकालयसँगै । छोराको सम्झनामा प्रत्येक कार्तिक १९ गते विमलको सम्झनामा राष्ट्रियस्तरको कविता प्रतियोगिता हुँदै आएको छ । सर्वाेकृष्ट कविहरुले नगदसहित सम्मान प्राप्त गर्छन् । वर्षभरी प्रकाशित पुस्तकका उत्कृष्टतालाई आधार मानेर निर्णायकहरुको सिफारिसमा दुई लाखको पुरस्कार दिने व्यवस्था विमल गुरुङ स्मृति पुस्तकालयले गरेकै छ । यी सबैको चाँजोपाँजो पूर्णबहादुरले पेन्सनबाट आएको धनराशीबाट मिलाउँछन् । मनकारी पूर्णबहादुरको सबै चीज भनेकै विमलको स्मृतिमा खोलिएको विमल पुस्तकालय नै हो ।
विमलले काठमाडौंमा रहेर पत्रपत्रिकामा समेत लेखहरु लेखे । नेपालका पुराना तथा चर्चित साहित्यिक पत्रिकाहरुमा उनका कविताले छापिने अवसर पाएका छन् ।
पूर्वतिरका लागि साहित्यिक तीर्थस्थलका रुपमा विमल गुरुङ स्मृति पुस्तकालय जीवित अवस्थामा रहेको छ ।
विमलका कवितामा व्यंग्य रस बढी भेटिन्छ । दुःखी, गरीबका विषयलाई बढी उठान गरिएका पाइन्छन् । लाहुरे बाबाका छोरा विमलमा धनको कतै रवाफ र कूलतमा फसेका भेटिदैंनन् । २० वर्षको लक्का जवान हुँदा २ हजार बढी पुस्तक संग्रह गरेको भेटिन्छ बरु ।
पञ्चायती व्यवस्था परिवर्तन गर्न सानै उमेरमा विमलले खेलेको भूमिका अनुकरणीय मान्न सकिन्छ । भूपि शेरचन कविलाई रुचाउने विमलले आफ्नो आदर्श–साहित्यकार मोदनाथ प्रश्रितलाई मानेका रहेछन् भन्ने कुरा विमलको डायरीबाट लेखक चन्द्र गुरुङले थाहा पाउँछन् ।
पठनसंस्कृति कमजोर बन्दै गएको वर्तमान परिवेशमा विमल गुरुङ स्मृति पुस्तकालयमा पढ्न पुग्ने पाठकहरु समेत पातलिदै गएका छन् । नयाँ पुस्ताका अध्ययनशील युवायुवतीलाई देख्दा छोरा विमलको तिर्सना मेट्ने पूर्णबहादुरको चिन्ता रहेछ–कतै पाठकको अभावमा पुस्तकालयमा ताला ठोक्नुपर्ने त हैन ।
विमलको फोटो हेरेर, पुस्तकहरु छामेर, दराजहरुका पुस्तकहरु मिलाउँदै सफा गरेर, टेबल–कुर्ची पुसेर अनि आउने पाठकहरुलाई पानी र चिया पिलाउँदै छोराको स्नेहपूर्ण स्मृतिका छायाँलाई मनको ऐनामा प्रतिबिम्बित गर्दै बाँचेका पूर्णबहादुरको सपनालाई जीवन्त राख्न समेत पुस्तकालयमा पाठकको उपस्थिति पहिलो सर्त हुन्छ ।
धन्य छन् ८२ वर्षीय बाबा पूर्णबहादुर । जसले छोराका नाममा कतै बेफ्वाँकको दान गरेनन् । कतै वरपीपलको चौतारो बनाएनन् । बरु बनाए एउटा शैक्षिक चेतनाको ज्ञानरुपी उज्यालो पुस्तकालय । जहाँ हजारौले पढे, ज्ञान आर्जन गरे । बधाई छ, गोरखामा जन्मिएर पनि सुनसरी धरानमा पुगेका बलिया कवि चन्द्र गुरुङलाई । जसले विमललाई जीवित राख्न आफ्नो क्षमता, योग्यता र विशेष लेखन प्रतिभा पोखे । विमललाई युगयुग बचाइ राख्नेछन् चन्द्रले । भोकोलाई अन्नले र ज्ञानीलाई यही पुस्तकले अघाउन हाल्नेछ पक्कै ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij