२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

पौराणिक इतिहास बोकेको ईट्टा उद्योग जोगाउनु सरकारको प्रमुख दायित्व हुनुपर्छ

मंगलवार , बैशाख २२, २०८३

  • 475
    Shares
  • 475
    Shares
  • इतिहास : मानव सभ्यताको सुरुवात होस या कुनै लोप भएको सभ्यता या त भनौं आफ्ना पूर्वजहरुले निर्माण गरेको संरचना होस–ती सबैमा जो परापूर्वकालदेखि भविष्यका लागि जोगाइ राखिएको वस्तु हो ‘ईट्टा’ । लुम्बिनीको बुद्धको दरबार, लुम्बिनीको बुद्धको ‘मार्क चिन्ह’, मणिमुकुन्द सेनको दरबारको भग्नावेश, मल्लकालको दरबार, शाह–राणा दरबार, धरहरा हो या कुनै पुरातत्व महत्वको भवन–ती सबै संरचनामा ईट्टा नै बन्यो त्यो वस्तु जसले इतिहास जोगाएको छ । मानव सभ्यताको सुरूवातमा हडप्पा/मोहनजोदाडोको व्यवस्थित बस्ती समेतलाई ईट्टाको संरचनाले नै प्रमाणित गरेको छ । लुम्बिनी या त भनौ तिलौराकोट–देवदहमा वर्तमानमा समेत उत्खनन् भइरहेको संरचनामा बुद्धकालिन, मौर्यकालिन भवनको अवशेष प्राप्त भइरहेको छ । यसरी हेर्दा ईट्टाको इतिहास इसाको ३–४ हजार वर्ष पूर्व अर्थात ६–७ हजार वर्षको रहेको छ।

    वर्तमान समस्या
    केही दिनदेखि विभिन्न समाचार माध्यममा सम्मानित सर्वोच्च अदालतले प्रदुषणको नाउमा रुपन्देहीस्थित लुम्बिनी कोरिडोरको सबै उद्योगलाई मायादेवी मन्दिर क्षेत्रको १५ किलोमीटर टाढा राख्न पूर्व आदेश कार्यान्वयनको लागि कुरा उठिरहेको छ । यो स्थानमा हजारौं वर्षदेखि ईट्टा उत्पादन हुँदै आइरहेकै छ । उत्खनन् एवं वर्तमान समयमा भेटिएका संरचचनाले ईट्टाको महत्व प्रमाणित गरेकै छ । २००७ सालदेखि शुक्ला–चौधरी परिवारबाट ईट्टा उत्पादन समेत भएको आधुनिक इतिहास रहेको छ । बतौर उद्योगको रुपमा २०२५ सालबाट चिम्नी उद्योग सञ्चालनमा आयो । त्यो समयमा बिरलै उद्योग हुने गर्दथे । यति पुरानो उद्योगमा विभिन्न समयमा प्रविधियुक्त रुपान्तरण हुँदै गए । टिनको चिम्नीपछि फिक्स चिम्नी, स्ट्रेटलाई फुकाइ लाई साउथ एसियामा रुपन्देहीबाटै पहिलोपटक ‘जिगजेग’ प्रविधि जुन भारत–पाकिस्तान– बंगलादेश भन्दा पहिला कम प्रदुषण गर्ने प्रविधि अवलम्बन गरेको रुपन्देहीको ईट्टा उद्योगीको इतिहास छ । स्वर्गीय कमल पाठकको महत्वपूर्ण प्रयासमा प्रदुषण न्यूनीकरणको पहिलो अभियान रुपन्देहीबाट भएको नेपाली इतिहास छ । अहिले त अझ झन फोर्सड्राफ्ट अर्थात कार्बनलाई अत्याधिक न्यूनीकरण लागि विद्युत जडानसहित पंखा लगाएर अघि बढेका उद्योगीहरु छन् । राज्यलाइ पूर्ण आत्मनिर्भर बनाउने उद्योगलाई हटाउने यसको इतिहास मेट्नु सरह हो ।

    स्थान्तरण कहाँ ? 
    सामान्यतया ईट्टा उद्योगलाई डाडो (उचा) जमिन त्यो पनि १०–१५ बिघाको आवश्यकता पर्दछ । यतिका जग्गा कहाँ उपलब्ध होला ? भन्न सजिलो छ तर, जग्गा भेटाउन गाह्रो छ । ६ दशकका उद्योग हटाउन  त्यति सजिलो होला । फेरि रुपन्देहीमा मात्र झण्डै आधा उद्योग अर्थात १८ उद्योग बन्द हुने अवस्था छ । यसमा एक उद्योगमा  कार्यरत ३ देखि ५ सय मजदूरको कुरा गर्दा ७ हजार मजदूर र ती मजदूरसँग आश्रित परिवार झण्डै १० हजारको जीविका खोसिनेछ । अझ कपिलवस्तुतर्फ जोड्दा त २५ हजारको रोजगारी गुम्ने खतरा छ । परिवर्तनको नाउमा बेघर, भोकमरी निम्त्यानु कत्तिको उचित छ ? फेरि मायादेवी मन्दिरको उत्तर, पुर्व, पश्चिममा नेपालका मात्रै उद्योग बन्द गर्ने अनि  दक्षिणमा भारत केवल २ किलोमीटर हुँदा उताका उद्योग नियन्त्रणमा राज्यको भूमिका मौन छ । यसरी नेपालका उद्योगहरु सिद्धिएर जाने, भारतका उद्योगहरु मात्र चल्ने कुरा विरोधाभाष छ ।

    निर्माणलाई अवरोध
    तीव्र विकासमा रहेको रुपन्देहीमा एकाएक उध्द्योग बन्द गर्दा विकासमा ठूलो अवरोध आउने निश्चित छ । रुपन्देहीको अमिल्दो नक्शा अर्थात हुलाक मार्गको उत्तर (पाल्पा सिमाना) रुपन्देही २४ किलोमीटर छ भने दक्षिणमा भारत सिमाना २२ किलोमीटर छ । मर्चवार त अर्को जिल्लाझै एक कुन्नामा अवस्थित ३ लाख जनसंख्याको ठाउँ जहाँ उद्योग नगन्य संख्यामा छन्  । जहाँ निर्माण सामग्री सहज आपूर्ति, ठुला बाटो, व्यवस्थित सहरी वस्तीको विकास हुन बाँकी नै छ । भएका उद्योगहरु हटाउँदा  २०४७ साल ताका भारतबाट चोरी निकासी हुँदै आएको ईट्टा बन्द भएर पूर्ण आत्मनिर्भर उद्योगलाई हटाउँदा नेपाली नागरिक अब परासी नगइकन सीमापारी (भारत) माथि निर्भर हुनेछन् ।

    चेकजाँच गरी व्यवस्थित गर्न सकिन्छ 
    सरकारले गत वर्ष नै प्रदुषण न्यूनीकरणको लागि भारतझै ईट्टा पोल्ने समय निर्धारण गरेको छ । कम उत्पादन गरेर प्रदूषण न्यूनीकरण एवं आफ्नो व्यवसाय समेत चलाउन आधुनिक प्रविधि अवलम्बन गरी केवल ४ महिला (माघदेखि वैशाखसम्म) निर्धारण गरेको देशभरीका उद्योगले गत वर्षबाट अवलम्बन गरेकै छन् ।

    अन्त्यमा, पौराणिक इतिहास बोकेको यो ईट्टा उद्योगहरुलाई जोगाउन वर्तमान सरकारसँग माग गर्दछु । हजारौ वर्षपछि पनि लुम्बिनी, भैरहवा, नेपालको इतिहासको एक्लो प्रमाण चिनाउने उद्योगलाई जोगाउन, व्यवस्थित गर्न सम्बन्धित सबै पक्षसँग माग गर्दछु । सम्मानित न्यायालयको आदेशलाई हामी बाधक हुने छैनौ । तर, समस्या मात्र भनेर हुँदैन, समाधान समेत खोजिदिन अनुरोध छ ।
    (गुप्ता नेपाल ईट्टा उद्योग महासंघको सह–कोषाध्यक्ष र लुम्बिनी ईट्टा उद्योग व्यवसायी  संघ, रुपन्देहीको निवर्तमान अध्यक्ष तथा विगत पाँच दशक पारिवारिक उद्योगको दोस्रो पिढीका उद्योगी हुनुहुन्छ) ।