२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

‘खेलाडी राष्ट्रका गहना हुन्’

मंगलवार , बैशाख २२, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, २२ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले खेलाडी राष्ट्रको गहना भएको बताउनुभएको छ । उहाँले खेलाडी अनुशासित हुनुपर्नेमा जोड दिनुभएको छ ।

    सिद्धार्थनगर नगरपालिकाद्वारा भैरहवामा आयोजित चौथो उप–प्रमुख कप जिल्लास्तरीय कराते प्रतियोगिता–२०८३ को उद्घाटन गर्नुहुँदै उपप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । ‘विगतमा खासै कराते प्रतियोगिताहरु हुन सकेका थिएनन् । त्यसैले पनि कराते प्रतियोगिता सञ्चालन गरिरहेका छौं । आगामी आर्थिक वर्षमा पनि कराते प्रतियोगिताका लागि बजेट विनियोजन गरिने म प्रतिवद्धता व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो ।

    उहाँले आफू रुपन्देही जिल्ला खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास समितिको सदस्य भइसकेको गराउँदै खेल क्षेत्रको विकासमा चासो दिएको बताउनुभयो ।

    खेलकुद क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यति राज्यले भने गर्न नसकेको बताउनुभयो । खेलाडीले पनि आफ्नो कर्र्तव्य पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको उपप्रमुख अधिकारीले बताउनुभयो ।

    कार्यक्रममा नेपाल सितोरियो कराते संघ, रुपन्देहीका अध्यक्ष नारायण बहादुर थापाले सिद्धार्थनगर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता र महत्व दिएको बताउनुभयो ।

    कार्यक्रममा कालिका कराते डो एकेडेमी, रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद देवकोटा, सचिव सन्तु दंगोरिया लगायतले बोल्नुभएको थियो ।

    कालिका कराते डो एकेडेमी, रुपन्देहीको संयोजनमा वैशाख २० र २१ गते भएको प्रतियोगितामा देवदह नगरपालिका प्रथम, तिलोत्तमा नगरपालिका दोस्रो र गैडहवा गाउँपालिका तेस्रो भएको एकेडेमीका सचिव सन्तु दंगोरियाले बताउनुभयो ।