२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

बहिरा बाल माविमा पुरस्कार वितरण

मंगलवार , बैशाख २२, २०८३

  • 328
    Shares
  • 328
    Shares
  • भैरहवा, २२ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री बहिरा बाल माध्यमिक विद्यालयमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको स्वर्ण महोत्सव २०८३ को अवसरमा वैशाख ११ देखि १७ गतेसम्म सञ्चालित सप्ताहव्यापी खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागीहरुलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक भिम बहादुर थापाले बताउनुभयो ।

    सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भलिबल, हिज्जे, चित्रकला, फुटबल प्रतियोगिता, सटपुट, बैलुन दौड, चम्चा दौड लगायत कार्यक्रम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीबीच मात्र नभइ शिक्षक/कर्मचारीबीच पनि खेलकुद प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक थापाले बताउनुभयो । यी प्रतियोगिताहरुमा उल्लेखनीय सहभागीता रहेको उहाँको भनाइ छ ।

    विद्यालयमा सोमबार आयोजित पुरस्कार वितरण कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेय लगायतले विद्यार्थी तथा शिक्षक/कर्मचारीलाई पुरस्कार वितरण गर्नुभएको हो ।

    सो अवसरमा बोल्नुहुँदै नगर उपप्रमुख उमा अधिकारीले जीवनमा धेरै कठिनाइ र उतारचढाव आए पनि डराउन, आत्तिन र मात्तिन नहुने बताउनुभयो । ‘आत्मविश्वास र धैर्यताका साथ परिस्थितिको सामना गरियो राम्रो परिणाम आउँछ । तपाईहरु विशेष हुनुन्छ । यो विशेष विद्यालय हो । विद्यालयको टीमलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, ’उहाँले भन्नुभयो ।

    उपप्रमुख अधिकारीले बहिरा बाल माध्यमिक विद्यालय लुम्बिनी प्रदेशमा एउटा मात्रै यस्तो विद्यालय भएको बताउनुभयो । तर विगतमा केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यान पुग्न नसकेको उहाँले बताउनुभयो । ’म रुपन्देही जिल्ला खेलकुद विकास समितिको सदस्य हुँदा यो विद्यालयमा खेलकुदको माध्यमबाट यहाँ जोडिन पुगे । यहाँका विद्यार्थी राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागी भएर राम्रो खेल प्रदर्शन गर्नुभयो, ’उहाँले भन्नुभयो । आफूले उपप्रमुखको जिम्मेवारी सम्हालेपछि विद्यालयकोे विकासमा अझै चासो लिएको उहाँको भनाइ छ । ‘विद्यालयलाई अगाडि बढाउन पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धेरै सहयोग गर्नुभयो । हामीले आफ्नो ठाउँबाट प्रयास गरौं । यो विद्यालयमा सबैको आँखा परोस्, ’उहाँले भन्नुभयो ।

    त्यस्तै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद अग्रवाल धेरै आरोह–अवरोह पार गर्दै विद्यालय अगाडि बढेको बताउनुभयो । ‘वास्तवमा यस्तो विद्यालयमा लगानी गर्दा राम्रै हुन्छ । सरकारले पनि ध्यान दिएको छ । सबैको सहयोग चाहिन्छ । यो विद्यालयको शैक्षिक गुणस्तर राम्रो छ । विद्यार्थी अनुशासित छन् । शिक्षक लगनशील छन्, ’उहाँले भन्नुभयो । नयाँ सरकारले पनि विद्यालयको विकासका लागि केही गर्छ भन्ने आशा रहेको बताउनुभयो ।