मंगलवार , कार्तिक १७, २०८३
दाङ, १७ असोज । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलन र जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचारसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८२/०८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदनसमेत स्वीकृत गरेको छ । त्यस्तै प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पनि पारित गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री रामजी प्रसाद घिमिरेले जानकारी दिनुभयो।
त्यसै गरी प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ । निजी वनका रुख कटान, उपयोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि भने सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको छ ।
बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नीता पोख्रेल अर्याललाई तोक्ने निर्णय गरेको छ । त्यस्तै पर्यटन विकास परिषद्को आर्थिक तथा प्रशासनिक कार्य सञ्चालनका लागि प्रशासन अधिकृत माधव शर्मालाई जिम्मेवारी तोक्ने निर्णयसमेत गरेको छ ।
बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा.कृष्णहरी सुवेदी, सामाजिक विकास निर्देशनालय राप्ती उपत्यका (देउखुरी)मा कार्यरत सहसचिव दिवाकर भण्डारीको अनिवार्य अवकाश स्वीकृत गरेको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. प्रताप पोखरेलको स्वेच्छिक राजीनामा स्वीकृत गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
