मंगलवार , कार्तिक १७, २०८३
काठमाडौं, १७ कार्तिक । स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनैपनि महामारी नदेखिएको जनाएको छ ।
मंगलवार सिंहदरबारमा राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले यस्तो जानकारी दिनुभएको हो । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेकाले महामारीको अवस्था नरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार हाल १४ वटाहोल्डिङ सेन्टरमार्फत २१ हजार ३ सय ९१ जनालाई स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
त्यस्तै, ९ हजार ५ सय ६४ जनालाई फिल्डमै आकस्मिक चिकित्सा टोली तथा स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान भइरहेको निमित्त महानिर्देशक पौडेलले बताउनु भयो । उहाँले हालसम्म रसुवाको बाढी प्रभावित ९ हजार ३ सय ६८ जनाले मानसिक स्वास्थ्य परामर्श सेवा गरेको बताउनु भयो । बाढी प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट १ सय ३९ जना मानसिक स्वास्थ्य जनशक्ति परिचालन गरिएको समेत उहाँले बताउनु भयो ।
उहाँले परामर्श लिएका कतिपय बाढी प्रभावित प्रभावितलाई औषधि उपचारसमेत आवश्यक देखिएको जानकारी दिनुभयो । निमित्त महानिर्देशक पौडेलले बाढी प्रभावित विभिन्न क्षेत्रबाट संकलन गरिएका १५ वटा पानीका नमुनामध्ये पाँच वटामा दिसामा पाइने जीवाणु भेटिएपछि क्लोरिनेसन तथा पानी शुद्धीकरण अभियान चलाइएको समेत बताउनु भयो । पानी दूषित भेटिएपछि हैजाको सम्भावित जोखिम नियन्त्रण गर्न रसुवामा २१ हजार ६ सय र नुवाकोटमा ८० हजार ५ सय २३ गरी करिब एक लाख दुई हजार नागरिकलाई मुखबाट खुवाइने हैजाविरुद्धको खोप खुवाइएको समेत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘हाल बाढी प्रभावित २१ हजार ३ सय ९१ जनालाई होल्डिङ सेन्टरमा कूल १४ वटा होल्डिङ सेन्टरबाट सेवा प्रदान भइरहेको छ । त्यसैगरी ९ हजानर ५ सय ६४ जनालाई फिल्डमै आकस्मिक चिकित्सा टोली र तथा शिविरमार्फत व्यवस्थापन गरिएको छ । १ सय ३९ जना मानसिक स्वास्थ्यका जनशक्तिहरुको सहयोगमा ९ हजार ३ सय ६८ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराइएको छ ।
उहाँहरुलाई समेत परामर्शभन्दा बढी औषधिको आवश्यकता रहेको तथ्यांक हामीले संकलन गरेका छौँ । सबैभन्दा महत्वपूर्ण कुरा पछिल्लो समयमा सुरक्षित पानी त्यसका लागि पानीको गुणस्तरको सर्भिलेन्स हाम्रो स्वास्थ्य मन्त्रालयकै टिओआरभित्र पर्छ । हामीले खोनपानीको १५ वटा नमुना सङ्कलन गरिएको थियो विभिन्न ठाउँबाट, जसमध्ये पाँचवटामा दिशामा हुने किटाणु भेटिएपछि पानीलाई क्लोरिनेसन र शुद्धीकरणको अभियान चलाइयो । र पानी अशुद्ध भेटिएपछि हैजाविरुद्धको खोप अभियान समेत चलायौँ ।
विगतमा पनि धेरै ठाउँमा हैजाको महामारी हुने गर्दा हाम्रो प्राथमिकतामा परेको कारण खोप प्राप्त गर्न कुनै समस्या भएन । हामीले रसुवामा २१ हजार ६ सय, नुवाकोटमा ८० हजार ५ सय २३ गरी करिब १ लाख २ हजार मात्रा हामीले मुखले खुवाउने खोप खुवाएका छौँ । यो खोपको एउटै खोपले पनि धेरै काम गर्छ । हामीले सातवटा निगरानी टोली विशेषगरी अर्ली वार्निङ रेस्पोन्स सिस्टम र यो सर्भिलेन्स हेर्ने हाम्रो इभिएस, इभेन्ट बेस सर्भिलेन्स सिस्टमबाट दैनिक प्रतिवेदन लिने काम गरिरहेका छौँ ।
यद्धपी आजसम्म बाढी प्रभावित क्षेत्रमा कुनैपनि महामारी अहिलेसम्म भेटिएको छैन । हालसम्म ४ सय ४८ जनालाई रुघाखोकी, जोरो थियो। ३ सय १ जनालाई ज्वरो लागेको भेटियो । उहाँहरुले उपचार पाइसक्नुभएको छ । र ८७ जनामा झाडापाखाला भेटियो । उहाँहरु सबै जना हाम्रो सम्पर्कमा हुनुहुन्छ ।’
उहाँले रोगको सम्भावित प्रकोप पहिचान तथा नियन्त्रणका लागि सात वटा निगरानी टोली परिचालन गरिएको समेत बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
