२०८३, कार्तिक १७ गते

Nov 03 2026 | २०८३, कार्तिक १७ गते

शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया

मंगलवार , कार्तिक १७, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा, १७ कार्तिक । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध तथा सहकार्य महत्वपूर्ण मानिन्छ । विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न विद्यालय, परिवार र समुदायबीच प्रभावकारी समन्वय आवश्यक पर्ने भएकाले रुपन्देहीको ओमसतिया गाउँपालिका–६ ले शिक्षक, विद्यार्थी तथा अभिभावकबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

    वडा नम्बर ६ को आयोजनामा मंगलबार श्री समशेर आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागीता थियो । विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने र विद्यार्थीको समग्र विकासमा अभिभावकको भूमिकालाई जोड दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    विद्यालयमा विद्यार्थीले हासिल गर्ने शैक्षिक उपलब्धि शिक्षकको प्रयासमा मात्र निर्भर नहुने जिल्ला समन्वय समिति रुपन्देहीका पूर्वप्रमुख एकराज विश्वकर्माले बताउनुभयो । घरपरिवारको वातावरण, अभिभावकको चासो, नियमित निगरानी र विद्यालयसँगको सहकार्यले पनि विद्यार्थीको सिकाइमा महत्वपूर्ण प्रभाव पार्ने उहाँको भनाइ थियो ।

    विद्यालय सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच नियमित संवाद आवश्यक रहेको ओमसतिया–६ का वडाध्यक्ष शिवकुमार धवलले बताउनुभयो । उहाँले स्थापनाकालदेखि नै विद्यालयलाई सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यस्ता कार्यक्रमले विद्यार्थीका समस्या, अपेक्षा र सम्भावना बुझ्न सहयोग पुर्‍याउनुका साथै अभिभावकलाई विद्यालयको शैक्षिक गतिविधिप्रति थप जिम्मेवार बनाउने विद्यालयका प्रधानाध्यापक बलिराम यादवले बताउनुभयो ।

    कार्यक्रममा विशेषगरी विद्यार्थीको नियमित उपस्थिति, पढाइप्रतिको रुचि, अनुशासन, व्यवहार तथा सिकाइमा देखिएका चुनौतीबारे साझा छलफल गरिएको थियो । यस्ता अन्तरक्रियाले विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।