२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

उस्तै  सिंहदरवार

शनिवार , कार्तिक २२, २०८२

  • 349
    Shares
  • 349
    Shares
  • धमिराले मितेरी गांसेका खम्बा
    नाममात्रको छत
    परालले छाएको कटेरो  
    र कटेरोभित्रको सानो संसार  
    जहाँ छन्-
    कुपोषणले चपाएको काखे बालक
    गरिबीमा पिसिएर  
    जवानीमै बुढी भएकी 
    चाउरीले जवानीलाई जिस्क्याइ रहेकी जहान 
    अनि सधै अभावको लहरे खोकी खोक्ने आमा  ।
      

    जहाँ बुबाको लास उठाउन 
    लिएको ऋणले थिची रहन्छ मुटु
    र महिनाको अन्त्यअन्त्यमा   
    ट्वाक-ट्वाक साहुको लठ्ठी बजाईले 
    अशान्त पार्छ सधैं मन
    डरले ढक्क फुलाउछ सधैं छाती 
    पसिनाले भिजाउछ जिउ ।

     जहाँ पलाएको थियो धिपधिपे आशा
    उसको मनको कुनामा  l 
    "गणतन्त्र आयो रे" भन्ने सुन्दा 
    अब उसकै "शासन आयो रे" भन्ने सुन्दा !
    आश पलाएको थियो झिनै भए पनि   
    काखे बालक पोषित हुने  
    श्रीमतीको चाउरिएको छाला छोपिने l   
    र आमाको दुखेको छाती सन्चो हुने 
    अनि बन्द हुने सधैंलाई  
    साहुको लठ्ठीको ट्वाक-ट्वाक ।  

    सुन्दा गाउमै आयो रे सिंहदरवार 
    उज्यालिएको थियो उसको अनुहार  
    र हर्षित भएको थियो ऊ त्यसबेला 
    तर देखेपछि गाउँमा पनि 
    उस्तै दबार र उस्तै शासक 
    र भोगेपछि उस्तै शासन 
    ऊ झल्यास भएको छ अहिले । 

    उस्तै छ काखे बालकको कुपोषण र रोदन
    उस्तै छ आमाको खोकी  
    आधै ढाकिएको छ जहानको लाज अझै 
    अनि उस्तै छ साहुको लठ्ठीको ट्वाक-ट्वाक
    उसरीनै भिझ्छ डरका पसिनाले जिउ सुन्दा
    र उसरीनै बग्छन् आँशु विवसताका
    र उस्तै छ मेरो सिंहदरबार

    किन कि उस्तै छन शासन गर्ने मानिस 
    र उस्तै छन पुराना र नयाँ सिंहदरवार