
मास्क नलगाई हिँड्नेलाई जरिवाना !
शनिवार , श्रावण ३१, २०७७
तिलोत्तमा, ३१ साउन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना महामारीको सन्दर्भमा नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गराउने निर्णय भएको छ । सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायिक संघ—संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा शनिबार बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा हालसम्म गरिएका कामको समीक्षा गर्दै कोरोना सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गराउने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने, घर बाहिर निस्कनै परेमा अनिवार्य मास्क प्रयोग गर्ने, मास्क नलगाई बाहिर निस्केको पाइएमा तत्काल एक सय रुपैंयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैक, वित्तीय एवं सहकारी संघ–संस्थाहरुमा जनस्वास्थ्य मापदण्ड र उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाई न्यून जनशक्ति परिचालन गर्ने गरी सेवा सुचारु गर्न सम्बन्धित संस्थाले व्यवस्था मिलाउने, भौतिक दुरी कायम हुन नसक्ने डेण्टल, सैलुन, व्युटीपार्लर, हाटबजार, व्यायमशाला जस्ता सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय पनि सिसीएमसी बैठकले गरेको छ ।
विभिन्न निकाय एवं संघ-संस्थाबाट गरिने भेला, गोष्ठी, सेमिनार लगायतका कार्यहरु बन्द गर्ने एवं चाडपर्वको नाममा गरिने जमघटका कार्यहरु नगर्ने/नगराउने, औषधिजन्य बाहेकका सबै प्रकारका व्यवसाय तथा पसलहरु साँझ ७ बजेभित्र अनिवार्य बन्द गर्ने, बन्द नगरेमा संक्रामक रोग ऐन बमोजिम कारवाही गर्ने निर्णय पनि बैठकले गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले जानकारी दिए ।
नगर क्षेत्रमा कोरोनाको अवस्था पहिचान गर्न समुदायस्तरमा सम्भावित सबै क्षेत्रलाई समेट्ने गरी प्रतिनिधिमूलक रुपमा पीसीआर परीक्षणको दायरा बढाउने, सम्भावित जोखिमलाई मध्यनजर गरी नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन सेन्टरको थप क्षमता विस्तार गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै नगरपालिका तथा अन्तर्गतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका घरनक्सा, राजस्व, पञ्जीकरण, व्यवसाय/सहकारी दर्ता र नविकरण लगायतका सेवा प्रवाह सम्बन्धि कार्यहरु आगामी भाद्र १० गतेसम्म बन्द गर्ने, कोरोना संक्रमितको मनोबल उच्च बनाउन एवं शिघ्र स्वास्थ्य लाभमा टेवा पुर्याउनछिमेकी, इष्टमित्र, लगायत सबैले मनोवैज्ञानिक त्रास हटाउन सहयोग पुर्याउने पनि बैठकले निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij