
सोमवार , आश्विन २७, २०८२
काठमाडौं, २७ असोज । नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरुमाथि अनुसन्धान गरी दोषी देखिएर कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो ।
उहाँले जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै धेरै मानवीय क्षति भएकाले आफूहरुले सोही दिन नै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा मागेको पनि स्पष्ट पार्नु भयो ।
सभापति शेर्पाले सो आन्दोलनको नेतृत्वकर्ताका रुपमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह देखिएको उल्लेख गर्दै सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि अनुसन्धानको काम तत्काल अघि बढाउन सरकारलाई दबाब दिनुभयो ।
उहाँले भन्नुभयो, ‘तत्कालीन प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्युलाई पनि छानविनको दायरामा ल्याएर उहाँहरुको पनि बयान लिएर दोषी देखिए उहाँहरुलाई पनि कारबाही गर्नु पर्छ भनेर हामीले यो आज मात्रै होइन, हामीले सेप्टेम्बर ८ को बेलुका जुन घटना घट्यो । त्यतिबेला नै हामीले प्रधानमन्त्रीज्यु र गृहमन्त्रीज्युले यसको नैतिक जिम्मेवारी लिनुपर्छ ।
उहाँहरुले राजीनामा दिनुपर्छ । र, शक्तिशाली छानविन आयोग गठन गरेर यसको निकास दिनुपर्छ भनेर हामीले त्यतिबेला पनि भनेका थियौं भने अहिले पनि त्यो विषयमा हाम्रो स्पष्ट धारणा छ । भोलीबाट एकैचोटी सबै ठाउँमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीज्युलाई पनि छानविनको दायरामा ल्याएर यदि दोषी देखियो भने उहाँहरुलाई पनि कारबाही गर्नु पर्छ ।
र त्यो छानविनको दायरामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आउनुपर्छ । उहाँले सिंहदरवार जलाउनुपर्छ भनेर युवाहरुको माईनसेट गर्नु भएको थियो । उहाँले सेप्टेम्बर ८ को आन्दोलनको आह्वान गर्नु भएको थियो । जसले यो आन्दोलनको लिडर भनिरहनु भएको छ । उहाँहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने नेपाल विद्यार्थी संघको ठम्याइ हो ।’
नेविसंघले पत्रकार सम्मेलनमा असोज २८ गतेबाट जेन जी आन्दोलनमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रने चेतावनी समेत दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij