
सोमवार , भाद्र २३, २०८२
म आजित भइसकें
तिम्रा काम तमाम
सुन्दै सुन्दै
म विक्षप्तिको शिकार भइसकें
तिमीमा नलाज न घिन छ
दलहरूको शिको गर्छौ
दलहरूलाई धारे हात लगाउँछौं ।
पछि त्वम शरणम् साहित्य भन्छौ
किन बन्धक बनाउँछौ ?
साहित्यलाई..,
सरम लाज र घिन छैन तिमीमा ?
दलहरूको झण्डा र डण्डा बोकेर
कुन गन्तव्यमा हिंडिरहेछौ ?
भन कुन गन्तव्यमा
आफ्ना ठीक अरू बेठीक
उही कर्म र धर्ममा
कसरी हुन सक्छ ?
तिमी आफैं भन ..,
आत्मा साक्षी राखेर भन
के तिमी ठीक गरिरहेछौ ?
अन्जान र बेसाहारा जनताको
बीचमा कुर्ली कुर्ली किन उफ्रन्छौ
देशको दुर्गति
तिम्रा आँखामा कहिल्यै छाएन
आफू ठूलोबाहेक
अरू कुरा भएन....
भन्छौ इतिहास कोर्नु छ
आफ्नो कपाल बाहेक
के कोरेका छौ र ?
देशको दशा र दुर्दशा
साहित्यले देखाउँछ
भन्छौ दिनभर नेताहरूलाई सत्तो श्राप गर्छौ
साँझ तिनकै घरमा गएर बियर र
विस्किको चुस्की लगाउँछौ .....
जहिले पनि बुढा नेताहरूले
सत्ताको मदमा मस्त भएर
देशको दुर्दशा गरे भन्छौ
कुर्सी नछोडने पनि भन्छौ
हो कहिले कहीं सत्य बोल्छौ
अनि आफू नि ?
तिमीले कुर्सी छोडेको इतिहास देखाउ
साहित्यलाई पेवा नबनाउ
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij