२०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

सरकारको विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको धर्ना

बुधवार , जेठ २७, २०८३

  • 184
    Shares
  • 184
    Shares
  • भैरहवा, २७ जेठ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी निर्णय विभेदकारी र स्वेच्छाचारी भएको भन्दै यो निर्णय खारेज गर्न माग गर्दै धर्ना कार्यक्रम आयोजना गरेको छ । महासंघले बुधबार देशभरका ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो ।

    नेपाल पत्रकार महासंघ, रुपन्देहीले भैरहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि गरेको धर्ना कार्यक्रममा पत्रकारहरुले मिडियाविरोधी नीति फिर्ता लिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

    धर्नालाई सम्बोधन गर्दै महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले वर्तमान सरकार ‘निर्वाचित निरंकुश शासक’ को रुपमा अगाडि बढेको बताउनुभयो । सरकारले गरेको यो निर्णय नेपालको संविधान र प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको उहाँले बताउनुभयो । सरकारले यो निर्णय नसच्याए महासंघ अझ कडा आन्दोलनमा उत्रिन बाध्य हुने उहाँले चेतावनी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको परिपत्रमार्फत सरकारी विज्ञापन र सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गलत भएको उहाँले बताउनुभयो ।

    महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्यले सरकारले मिडियाविरोधी निर्णय गरेको आरोप लगाउनुभयो । उहाँले यो आन्दोलनमा ऐक्वद्धता जनाउने सबैप्रति आभार व्यक्त गर्नुभयो । सरकारको निर्णय पूर्णत गलत भएकोले यस्ता विभेदकारी निर्णयविरुद्ध आन्दोलन पूर्णरुपमा सफल बनाउने समेत उहाँको भनाइ छ ।

    महासंघको रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले वर्तमान सरकारले लोकतन्त्रविरोधी निर्णय गरेको बताउनुभयो । यो सरकारले सुरुदेखि सञ्चारमाध्यममाथि अंकुश लगाउने, मुख बन्द गर्ने र तहसनहस गराउर्न  खोजेको उहाँले आरोप लगाउनुभयो । लोकतन्त्रको एउटा बलियो पिल्लरको रुपमा रहेको मिडियालाई बन्द गराउने अभियानमा सरकार देखिएको उहाँको भनाइ छ । पछिल्लो समय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण बढाउन खोजेको उहाँले बताउनुभयोे ।

    राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोपाल ज्ञवालीले वर्तमान सरकारले विज्ञापनसम्बन्धी स्वेच्छाचारी र विभेदकारी नीति बनाएको बताउनुभयो । उहाँले मिडिया हाउसमा डोजर चलाउने काम गरिएको बताउनुभयो । अध्यक्ष ज्ञवालीले नेपाल पत्रकार महासंघले आन्दोलनप्रति ऐक्वद्धता जनाउँदै आगामी दिनका कार्यक्रमहरुमा पनि सहभागी हुने बताउनुभयो ।

    पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियारले वर्तमान सरकारले सुरुवातमै मिडियामाथि नियन्त्रण गर्ने उद्देश्य राखेर नीति बनाएको आरोप लगाउनुभयो । सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने कुरा मिडियामाथि अघोषित रुपमा नियन्त्रण गर्नु भएको बताउनुभयो । राज्य सबैका लागि हुनुपर्ने र राज्यले कुनै पनि विभेदकारी नीति लिन नहुने उहाँको भनाइ छ ।