२०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

राज्यले उपेक्षित गरेको समाज रुपान्तरणका योद्धा

बुधवार , जेठ २७, २०८३

  • 34
    Shares
  • 34
    Shares
  • मानवीय सहिष्णुता, सांस्कृतिक गहिराइ र परम्परागत विविधताको अनुपम सङ्ग्रहालयका रूपमा परिचित कर्णाली प्रदेशलाई प्रायः भौगोलिक कठिनाइ,दुर्गम,सामाजिक तथा आर्थिक दृष्टिले पछाडि परेको क्षेत्रका रूपमा ब्याख्या गरिन्छ । विकासको दृष्टिकोणबाट राज्यको मूलधारसँग पूर्ण रूपमा समाहित हुन् नसकेको कर्णाली प्रदेशको दैलेख जिल्लाको ग्रामीण परिवेशमा हुर्किएर देशमा बहुदलीय व्यवस्था स्थापनाका लागि आन्दोलनमा होमिएर पटक पटक जेलको समेत यात्रा गरेका र पूर्वाधार विकासको सीमाभन्दा माथि मानवता,  समानता, मानव अधिकार तथा सामाजिक न्याय स्थापित गर्नका लागि संस्था नै खोलेर निरन्तर आवाज उठाउदै आएका तर राज्यको नजरबाट उपेक्षित एक संघर्षशिल अभियन्ताको नाम हो हिरा सिंह थापा ।

    नेपाल जस्तो अल्प बिकसित राष्ट्र जहा आजको २१ औ शताब्दीमा पनि महिलालाई दोश्रो दर्जाको नागरिकका रुपमा ब्यबहार गरिन्छ । आजका दिनसम्म पनि बालबालिका,महिलाहरुले दुब्र्यबहार, बलात्कार, बेचविखन, बालविवाह, बहुविवाह, अनमेल विवाह,घरेलु हिंसा,हत्या र यौन शोषणका घटनाहरुबाट मुक्ति पाउन सकेका छैनन् । जहाँ महिनावारी हुदा महिला तथा बालिकालाई घरबाट टाढा छाउगोठमा लगेर सुताईन्छ । राज्यबाट सधै ओझेलमा पारिएको कर्णाली प्रदेशमा आजभन्दा ३० बर्ष पहिले सामाजिक न्यायको लागि आवाज उठाउनु त्यति सजिलो थिएन । दैलेखको ग्रामीण परिवेशमा हुर्किएका थापाले आफ्नो जीवनलाई व्यक्तिगत उपलब्धि वा सीमित परिधि भित्र मात्र सिमित राखेनन्  । नीति निर्माणका पानाहरुमा नसमेटिएका सीमान्तकृत समुदाय, महिला, बालबालिका र विशेषगरी नेपालको अन्तिम फिरन्ते आदिवासी समुदाय राउटेका आवाजहरुलाई बुलन्द पार्दै लगे ।

    नेपालको संबिधान २०७२ मा समान हकका कुरा गरिएकोछ । कर्णाली जस्तो दुर्गम जिल्लाहरु सामान्य पूर्वाधारका लागि निरन्तर लडिरहेको छ, यस्तो ठाउमा सामाजिक न्याय, जातीय तथा महिला अधिकार, समानता, महिला बिरुद्धको शोषण, असमानता र विभेदको जरो हटाउन सहज छैन् । परम्परा र प्रचलन, पुरुष प्रधान समाज, धर्म र संस्कृति, भेदभावपूर्ण कानुनका कारण सिमान्तकृत समुदाय माथिको विभेद र शोषणको जरो हट्न नसक्नु र नेपाली समाजमा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, धार्मिक क्षेत्रमा महिला र पुरुष बीच विभेद कायमै रहनु दुखद कुरा हो । नेपालमा प्रजातन्त्रको उदय  पश्चात, सरकारले राजनैतिक भागबण्डा, चाप्लुसिका आधारमा आफ्ना आसेपासेलाई बर्षेनी बिभिन्न विभूषण र पदक दिएर सम्मान गर्ने गरेको छ तर पेशाले ईन्जिनियर आफ्नो राम्रो खाइपाई आएको सरकारी जागिरलाई छोडेर गरिब, दलित, सिमान्तकृत समुदायका अधिकारलाई स्थापित गर्नका निम्ति स्वयंसेवकको बाटो रोज्नु चानचुने कुरो होईन । बिडम्बना, समाज रुपान्तरणका लागि अहोरात खटने एक योद्धा राज्यलाई उपेक्षित गरिरहेको छ ।

    राज्यले तपाईलाई उपेक्षित गरेको जस्तो लाग्दैन ? भन्ने यस पंक्तिकारको भनाइमा, उनको स्पष्ट भनाइ थियो, “मैले कहिले पनि राज्यले सम्मान गर्छ कि ? भनेर काम गरिन र गर्दिन पनि, यो राज्यको कुरा हो । मलाई हजारौ महिला तथा बालबालिकाहरु, लोपोन्मुख समुदायका राउटेहरू, सिमान्तकृत बर्गहरु समाजमा आफ्नो अस्तित्व कायम गर्न सफल भईरहेकाछन् । उनीहरुको म प्रतिको माया, स्नेह,सम्मान र आदर नै मेरो जिबनको ठुलो पुरस्कार र सम्मान हो ।”

    उनको ध्यान एक बर्ग तथा क्षेत्रमा मात्र सिमित छैन् । नेपालको लोपोन्मुख राउटे समुदायको पहिचानका लागि पनि निरन्तर लागि परेकाछन् । राउटे, नेपालको सांस्कृतिक धरोहर मात्र होइन, जीवित इतिहास हो । आफ्नै भाषा, परम्परा र घुमन्ते जीवनशैली बोकेको यो समुदाय आधुनिक विकासको गतिसँगै आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेकोछ । नागरिक अधिकार, सामाजिक सुरक्षा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाबाट बन्चित उनीहरूको जीवर्न जटिल अबस्थामा छ । यस्तो मानबिय संवेदनशील अवस्थामा रहेका राउटे समुदायलाई राज्यको मुलधारमा स्थापित गराउनका लागि हिरा सिंह थापाले निरन्तर प्रयास गरिरहेका छन् । राउटे समुदायका समस्या राज्य, नागरिक समाज र सञ्चार माध्यमसम्म पु¥याउन निरन्तर पहल गरिरहेका छन् । यसको उपज आज, राउटे समुदायको राष्ट्रियस्तरमा सरोकार बढ्दै गएकोछ ।

    हिरा सिंहको योगदान केवल एउटा समुदायमा मात्र सीमित छैन । उनले कर्णालीका ग्रामीण समाजमा गहिरो रूपमा जरा गाडेर बसेको सामाजिक असमानता, लैङ्गिक विभेद र संरचनागत अन्याय विरुद्ध निरन्तर आवाज उठाएकाछन् । विशेषगरी महिला अधिकारका क्षेत्रमा उनको भूमिका महत्वपूर्ण छ । महिलालाई शिक्षा, स्वास्थ्य, नेतृत्व र आर्थिक अवसरबाट वञ्चित गरिने परम्परागत संरचनालाई चुनौती दिँदै उनले लैङ्गिक समानतालाई सामाजिक विकासको केन्द्रमा राख्ने अभियान सञ्चालन गरेकाछन् । उनको नेतृत्वमा भएका प्रयासहरूले महिलाको आत्मनिर्भरता, शिक्षा र नेतृत्व विकासका कार्यक्रमले समाज रूपान्तरणमा योगदान पुगेको छ । समाजमा गहिरो रुपमा जरा गाडेर बसेको सामाजिक कु–प्रथा छाउपडीको अन्त्यका लागि उनको संघर्ष उल्लेखनीय छ । महिनावारीलाई अपमान र बहिष्करणसँग जोड्ने अमानवीय अभ्यासले महिलाको जीवन, स्वास्थ्य र सम्मानमा गम्भीर असर पार्दै आएको थियो । यसको निराकरणका लागि उनले आफनै घरबाट शुरवात गरे । साथ,ै जातिय भेदभाव बिरुद्ध आवाज उठाउदै गर्दा उनले आफै अन्तरजातीय बिबाह गरे । यो प्रयास केवल सामाजिक सुधारमा मात्र केन्द्रित नभई मानवीय सम्बेदनशिलता र मर्यादाको पुनःस्थापना पनि हो भन्दा अतियुक्ति नहोला । बाल अधिकार, बालबालिकाको स्वास्थ्य,  शिक्षा, सुरक्षा र बालविवाह अन्त्यका क्षेत्रमा पनि उनको योगदान सशक्त छ ।

    नेपाल सरकारले उनको योगदानलाई चिन्न सकेन तर संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) ले उनको योगदानको कदर गर्यो । फलस्वरूप सन् २०१९ मा एन पिस अवार्डले उनि सम्मानित हुनपुगे । उनले यो पुरस्कार (Campaigning For Action Men) विधामा प्राप्त गरेका थिए । यो सम्मान संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को एशिया–प्रशान्त क्षेत्रीय सञ्जाल अन्तर्गत करिब दुई दशकभन्दा बढी समयदेखि, महिला अधिकारको संरक्षण, बालअधिकारको प्रवद्र्धन, छाउपडी प्रथाविरुद्ध अभियान, बालविवाह अन्त्यका लागि संघर्ष, सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धि,जस्ता क्षेत्रमा निरन्तर काम गरेको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो ।

    संघीय समाबेशी लोकत्रान्त्रिक व्यबस्थाको क्रममा,विभिन्न बर्ग,क्षेत्र र समुदायका जनताले आ–आफ्नो हक अधिकार सुनिश्चित गर्नको लागि हरेक तह र तप्कावाट भरपुर कोशिस गरि रहेकाछन् तर राज्यका पहुचबाट दुर रहेका हजारौं सिमान्तकृत, लोपोन्मुख, गरिब समुदायको एकीकृत बिकासको कुरामा अहम रुपमा निर्बाह गर्नुपर्ने भूमिकामा राज्य, राजनीतिक दलहरुले बठाई गरिरहेकोछ । राज्य संचालनको महत्वपूर्ण भूमिकामा दुर दराजका नागरिकको सहभागिता अत्यन्त न्यून छ । सरकारले देश र जनताका लागि निरन्तर लडिरहेका हिरा सिंह जस्ता व्यक्तिहरुको खोजि गर्नुपर्दछ र उनीहरुको योगदानको कदर गर्नु पर्दछ । हिरा सिंह एउटा प्रतिनिधि पात्र मात्र हुन् । यो लेखको उद्धेश्य, कुनै व्यक्ति विशेषमा केन्द्रित भएर लेखिएको भने होइन उनलाई उदाहरणका रुपमा प्रस्तुत गरि राज्यको ध्यानकर्षण गर्न खोजिएको हो । उनि जस्ता धेरै योगदानकर्ताहरु जसले देशका लागि निस्वार्थ लागिपरेका छन् । उनीहरुलाई राज्यले उपेक्षित नगरोस र उनीहरुको कामको  कदर र  सम्मान गरोस भन्ने हो । जसको कारण हजारौ नया पुस्ताहरुले उनीहरुको योगदानबाट प्रेरणा लिन सकुन र राज्यको समग्र बिकासमा योगदान पुर्याउन भन्ने नै यो लेखको आशय हो ।