२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

नारायणीको भेलले बगाएको सुस्ताको सिमाना ‘चिनारी’ : सुस्तामा मेटिएको भूगोल र थपिएको चिन्ता

मंगलवार , भाद्र २३, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • परासी, २३ भदौ । इतिहासका पानाहरू पल्टाउँदा वा भूगोलका रेखाहरू कोर्दा देशको नक्सा केवल कागजको टुक्रा मात्रै होइन, नागरिकको अस्मिता र पसिनाको दस्तावेज हो । तर, जब त्यही नक्सा जोगाउने भौतिक चिनारीहरू नै प्रकृतिको एक वित्यासमा बिलाएर जान्छन्, तब सिमानाका बासिन्दाहरूको छातीमा कति ठुलो पीडा/छटपटी हुन्छ भन्ने ज्वलंत उदाहरण बनेको छ–नारायणी नदीको काखमा पश्चिम नवलपरासीमा अवस्थित सुस्ता ।

    वर्षौंदेखि आफ्नो अस्तित्व र माटोका लागि लडिरहेको सुस्ताबासीका लागि सिमलको एउटा रुख केवल वनस्पति मात्र थिएन; त्यो सिमाना ठम्याउने एउटा जीवित स्तम्भ थियो। यस मामिलामा नेपाली पक्षले आफ्नो सिमाना दावी गर्दै आएको सिमलको रुख र भारतीय पक्षले भने सिमलको रुखभन्दा करिब पाँचसय मिटर दूरी पश्चिमपट्टी भेल्लरको रुखलाई सिमाना दावी गर्दै आएका थिए । तर, हाल आएको नारायणी नदीको बाढीले ती दुवै रुखलाई बगाएर लगेपछि सुस्तामा सिमाना पहिचानलाई लिएर गम्भीर अन्योल उत्पन्न भएको छ । जब यी ऐतिहासिक चिनारीहरू बगे, तब सुस्तामा सिमानाको पहिचान दिने मुख्य आधारहरू नै खोसिए ।

    अब केलाई मान्ने आधार ?

    रुख पानीले बगायो, नदीले धार फेर्यो र भूगोलका आकृतिहरू बदलिए । प्रश्न यो उब्जिएको छ कि, अब सुस्तामा सिमाना छुट्याउने वा दावी गर्ने आधार के बाँकी रह्यो ? दशकौँदेखि सीमा विवाद र सास्ती भोगिरहेका सुस्तावासीहरूका सामु यो प्रश्न अहिले घनघोर बनेर तेर्सिएको छ ।

    प्रमुख जिल्ला अधिकारी (सिडिओ) दीपकराज नेपालका अनुसार सिमलको रुख बगाएको यस संवेदनशील घडीमा अब यसको दिगो र आधिकारिक समाधान स्थानीय स्तरबाट मात्र सम्भव छैन । कूटनीतिक च्यानलबाटै स्थायी सीमा स्तम्भ गाड्ने पहल उत्तिकै आवश्यकता छ । सुस्ता क्षेत्रको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विक्रम खनाल अनुसार सो समस्याबारे नेपाल र भारतबीच कूटनीतिक पहलकदमी अपरिहार्य छ ।

    भौतिक रूपमा रुखहरू ढले पनि प्राविधिक र सुरक्षात्मक केही पाटोहरू भने अझै जीवित हुन सक्छन् । सिमलको रुख लगायतका महत्वपूर्ण स्थानहरूको जीपीएस लोकेशन पक्कै सुरक्षित होला । प्रविधिको यो अभिलेख भविष्यमा सीमा खोजी गर्ने र दावी पेश गर्ने मुख्य आधार बन्न सक्छ । यद्यपि, प्रविधिको डेटा मात्रैले सुस्तावासीको मनोवैज्ञानिक त्रासलाई भने कम गर्न सक्दैन ।

    चारैतिरबाट साँघुरिँदै सुस्ताको भूगोल

    सिमलको रुख बगेको पीडामाथि प्रकृतिको थप प्रहार र मानवीय जटिलताहरू पनि थपिँदै गएका छन् । सिमलको रुखभन्दा माथितिर नदीले लगातार कटान गरिरहेको छ । थारुटोलको क्षेत्रमा केही हदसम्म कटानको मात्रा घटे पनि खतरा टरिसकेको छैन । अझ विडम्बना त के छ भने, सुस्तालाई बाढी र कटानबाट बचाउन निर्माण भइरहेको अस्थाइ तटबन्धको काम पनि रोकिएको छ ।

    वारितिर आपत्कालीन उद्धार र तटबन्ध मर्मतका लागि ढुंगा र अन्य निर्माण सामग्रीहरू थुपारिएका छन् । तर, नदीको उग्र बहाव र ढुंगा बोकेर आउने डुङ्गाहरूको आवागमन अवरुद्ध हुँदा चाहँदाचाहँदै पनि समयमै इमर्जेन्सी काम गर्न सकिने अवस्था छैन । एकातिर बाढीको वित्यास, अर्कोतिर सीमा पहिचान गराउने मुख्य रुखहरू समेत बग्नुले सुस्तालाई चारैतिरबाट संकटले घेरेको छ ।

    समाधानको बाटो

    सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले सीमाको चिनारी मानिएको रुख बगेको मौका छोपेर भारतीय पक्षबाट थप विवाद हुन सक्ने आशंका छ । यो केवल एउटा रुखको क्षति होइन, राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषय हो ।

    गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले पनि लामो समयदेखि स्थायी सीमा स्तम्भ नहुँदा भोग्नुपरेको सास्तीको यथार्थ औंल्याउँदै अब संघीय सरकारले गम्भीर बन्नुपर्ने बेला आएको बताउनुभयो । उपाध्यायले भन्नुभयो–‘प्रविधिमा जीपीएस प्वाइन्ट हुनु राम्रो पक्ष हो । तर, जबसम्म सरकारले कूटनीतिक टेबलमा भारतसँग कुरा गरेर सुस्तामा आधिकारिक र स्थायी सीमा स्तम्भ खडा गर्दैन, तबसम्म सुस्ताबासीले ढुक्कले बस्ने वातावरण पाउन सक्दैनन् ।’

    सिमल र भेल्लरको रुखको जरा त नारायणीको भेलले बगायो । तर, सुस्ताबासीको न्याय र पहिचानको अधिकारलाई बगाउन दिनुहुँदैन । जनप्रतिनिधि र संघीय सरकारले समयमै दृढ कूटनीतिक कदम नचाले, इतिहासमा खतरा निम्तिन सक्छ ।

    sabikko simalko Rukha.jpg