२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

भैरहवाको मार्गदर्शन सहकारीको पैसा हिनामिना गर्ने अध्यक्ष केसी पक्राउ

बिहिवार , श्रावण १५, २०८२

भैरहवा, १५ साउन । रुपन्देहीमा सहकारी ठगीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसीलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मार्गदर्शन सहकारीका शेयरधनी तथा बचतकर्ताको रकम हिनामिना तथा अपचलन गरेको कसुरमा प्रहरीले दोलखाको साविक डाँडाखर्क गाविस वडा नम्ब ७ (हाल मेलुङ गाउँपालिका वडा नम्बर ६) बस्ने ३४ वर्षिया केसीलाई प्रक्राउ गरिएको हो । 

केसीले शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १ सय ६५ रुपैयाँ हिनामिना गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाले जानकारी दिनुभयो । केसीविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा गत वैशाख २० गते सहकारी ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भइ अनुसन्धान सुरु भएको थियो । 

प्रहरीले केसीलाई जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ खोजी गर्दै आएको थियो । खोजी गर्ने क्रममा साउन १४ गते प्रहरी वृत ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी रुपन्देही ल्याइएको डीएसपी सापकोटाले जानकारी दिनुभयो । केसीलाई जिल्ला अदालत रुपन्देही पेश गरिएको छ ।