२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

आज नागको पूजा गरी नागपञ्चमी पर्व मनाइँदै

मंगलवार , श्रावण १३, २०८२

भैरहवा, १३ साउन । आज नागपञ्चमी परम्पराअनुसार नागको पूजा-आराधना गरी घरको मूलढोकामा तस्बिर टाँसेर मनाइँदैछ।

आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि तस्बिर टाँसिन्छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ । नागपञ्चमीसँगै हिन्दू धर्मावलम्बीहरूका चाडपर्व पनि सुरू हुन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ ।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहेको छ । नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको   छ।