२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

कार्यसम्पादनमा अब्बल बन्दै सामाजिक विकास मन्त्रालय

सोमवार , श्रावण १२, २०८२

भैरहवा । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय कार्यसम्पादनमा अब्बल बन्दै गएको छ । विगतका आर्थिक बर्षहरुको तुलनामा आर्थिक बर्ष २०८१–०८२ मा कार्यसम्पादनमा अगाडि देखिएको हो । 

मन्त्रालयले आर्थिक वर्ष २०८०–०८१ को तुलनामा आर्थिक बर्ष २०८१–०८२ मा ८ प्रतिशतले खर्चमा पनि सुधार गरेको छ । चालु र पुँजिगत खर्चमा बृद्धि गर्दै मन्त्रालयले कामलाई चुस्त, दिगो, पारदर्शी र परिणामखुखी बनाउँदै लगेको मन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिनुभयो । 

मन्त्री तिमिल्सिनाले कार्यसम्पादनसंगै शिक्षाको गुणस्तर सुधारमा पनि मन्त्रालय गंभिर भएर लागेको बताउनु भयो । उहाँले अघिल्लो आर्थिक बर्षको तुलनामा गत वर्षको एसईई परीक्षाको नतिजामा उपलब्धि हासिक गर्न सकिएको बताउनुभयो । 

‘सामुदायिक विद्यालयका शिक्षकलाई अझ जिम्मेवार र विद्यार्थीलाई थप मिहनती बनाउने उद्देश्य अनुरुप शैक्षिक कार्यक्रम र योजना ल्याइएको छ’, मन्त्री तिमिल्सिनाले भन्नुभयो, ‘विगतको अनुभवले भविष्यको परिपक्क योजना बनाउने र बजेटको दुरुपयोग नियन्त्रण गरि योजनालाई चालु वर्षमा मितव्ययी र पारदर्शी बनाइने छ ।’

उहाँले आफूले कार्यभार सम्हालेपछि खर्चमा सुधार गरिएको जानकारी दिनुभयो । आफूले मन्त्रालय सम्हाल्दा खर्च प्रगति १० प्रतिशतभन्दा थोरै भएको र योजनाबद्ध काम गर्दा खर्चमा सुधार भएको उल्लेख गर्नुभयो । ‘कार्यसम्पादनमा चुस्तता, पारदर्शिता र गुणस्तर कायम गरी मन्त्रालयले काम गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘आवश्यक पर्ने ऐन, नियम र कार्यविधिहरु तर्जुमा गरिएको छ ।’ 

मन्त्रालयका अनुसार अघिल्लो वर्ष चालु र पुँजिगत गरी ६१ दशमलव ५ प्रतिशत खर्च गरेको थियो भने आर्थिक वर्ष २०८१–०८२ मा ६९ दशमलव १ प्रतिशत खर्च गरेको छ । 

भैरहवामा आयोजित आर्थिकवर्ष २०८१–०८२ मा सम्पादित कार्यक्रमको समीक्षासहितको पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख रामहरि रिजालले आव २०८०–०८१ मा बिगतका आर्थिक बर्षहरुको तुलनामा चालु र पुँजिगत खर्चमा अगाडि देखिएको बताउनु भयो । 

मन्त्रालयको बजेटको चालुतर्फ ६४ दशमलव ३ प्रतिशत खर्च गरिएकोमा आव २०८१–०८२ मा ७१ दशमलव ७ प्रतिशत र पुँजिगततर्फ अघिलल्लो वर्ष ४९ दशमलव ५ प्रतिशत र गत वर्ष ६५ दशमलव २ प्रतिशत खर्च भएको रिजालले बताउनु भयो । 

मन्त्रालयले अघिललो वर्ष कुल ४ सय १९ वटा संचालित आयोजनामध्ये २ सय ८३ वटा सम्पन्न भएको जनाएको छ । जसमध्ये १ सय १४ वटा चालु छन् भने २२ वटा आयोजनाको काम नै भएको छैन् । आर्थिक वर्ष २०८१–०८२ मा ९ सय ५७ वटा आयोजनामध्ये ५ सय २६ वटा सम्पन्न भइ ३ सय ४८ वटा चालु अवस्थामा रहेका छन् । ८३ वटा आयोजनाको काम नै हुन सकेको छैन ।

मन्त्रालयले आर्थिक वर्ष २०८१–०८२ मा लुम्बिनी प्रदेशका विद्यालयहरुको संरचनातर्फ ३९० वटा नयाँ कक्षा कोठा (भवन) निर्माण, ५० वटा शौचालय, ८२ बिद्यालय भवन मर्मत, १२ सूचना प्रबिधि ल्याव स्थापना, ११ बिज्ञान प्रयोगशाला निर्माण, ४ पुस्तकालय भवन निर्माण गरिएको मन्त्रालयका सचिव बसन्तप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सचिव कोईरालाका अनुसार गत वर्ष लुम्बिनीका मन्त्रालयहरुमा बढी बजेट खर्च गर्नेमा यो मन्त्रालय चौथो स्थानमा छ। उहाँका अनुसार आगामी वर्ष मन्त्रालयले कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने बताउनुभयो ।