२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

देवदहमा बाल गोपाल सिस महल निर्माण

आइतवार , श्रावण ११, २०८२

बुटवल, ११ साउन । रुपन्देहीको देवदह नगरपालिका–७ स्थित शितलनगरमा धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले बाल गोपाल सिस महल निर्माण गरिएको छ । शितलनगरमा रहेको दुर्गा पञ्चायतन मन्दिर संरक्षण समितिको देवदह मणिद्वीप धाम गुरुयोजना अन्तरगत बाल गोपाल सिस महल निर्माण गरिएको हो ।

शिलान्यास गरिएको एक वर्षमै निर्माणसम्पन्न भएको सिस महलको उद्घाटन तयारी समेत थालिएको छ । २०८१ भदौमा संघीय सांसद् तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले शिलान्यास गर्नुभएको सिस महलको यही साउन ३१ गते भाद्र कृष्णाजन्माष्ठमीका अवसरमा उद्घाटन गर्ने गरी तयारी थालिएको दुर्गा पञ्चायतन मन्दिर संरक्षण समितिका अध्यक्ष सिपी बस्यालले जानकारी दिनुभयो । 

स्थानीय तथा धार्मिक श्रद्धालु भक्तजनहरुको सहयोगमा जुटाइएको आर्थिक रकमबाट सिस महल निर्माण कार्य थालिएको उल्लेख गर्दै सोहीअनुसार झण्डै ७० लाखको लागतमा निर्माण पूरा भएको उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीयसँगै बाह्य धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न र पर्यटकको संख्यामा वृद्धि गर्नका लागि सिस महल निर्माण गरिएको बताउनुभयो ।  

केही श्रद्धालु भक्तजनहरुबाट दानपेटी तथा सहयोग संकलन गरिएको केही २०७५ सालमा सम्पन्न भएको महायज्ञमा संकलन भएको रकम जुटाएर बाल गोपाल सिस महल निर्माण गरिएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष दिनानाथ सापकोटाले जानकारी दिनुभयो । उहाँले सिस महलसँगै मन्दिर परिसरमा बुद्धमूर्ति, अर्जुन रथयात्रा, धार्मिक रमणीय पार्क, वाटर फाउण्डेशन र आकर्षक प्रदेशद्वार निर्माणलगायतका संरचनाहरु निर्माण गरिएको जानकारी दिनुभयो । 

इनडोर बिस वाई बिस स्क्वायर वर्गफिटमा निर्माण गरिएको सिस महलभित्र कृष्ण विरात स्वरुप, मखन चोर बालकृष्ण लिला, गोपिनी कृष्णलिला, नागमर्दन लिलालगायतका चित्रवर्णित रहेको मन्दिर संरक्षण समितिका सचिव अजय भण्डारीले जानकारी दिनुभयो । उहाँले सिस महलको निर्माण सम्पन्न भइसकेको र यही महिनाको अन्तिम साता उद्घाटनको तयारीमा रहेकाले आकर्षक मनमोहक रुपमा निर्माण सम्पन्न भएको सिस महलले आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । 

9a5e44b5-f277-471e-b532-f8e9e59326c5.jpeg

सिस महलभित्र एकपटकमा २० जनाले अवलोकन गर्न सक्ने र यसले कृष्णका विभिन्न लिलाबारे साना/ठुला सबैलाई जानकारी दिन मद्दत गर्ने मन्दिर संरक्षण समितिका उपाध्यक्ष यज्ञमुर्ति पाण्डेयले जानकारी दिनुभयो । उहाँले ठुलो र पुरानो इतिहास बोकेको दुर्गा पञ्चायतन मन्दिर परिसरभित्र निर्माण थालिएको देवदह मणिद्वीप धाम गुरुयोजना अन्तरगत बाल गोपाल सिस महल निर्माण गरिएकाले यसको प्रचारप्रसार हुन पनि उत्तिकै आवश्यक रहेको धारणा राख्नुभयो ।