आइतवार , आश्विन १८, २०८३
बुटवल, १८ असोज । आन्तरिक पर्यटन प्रवद्र्धनसँगै मनोरञ्जनका नयाँ र फरक माध्यम भित्राउने उद्देश्यले रुपन्देहीमा बुटवलमा करिब २ करोड रुपैयाँ लगानीमा नयाँ प्रविधियुक्त १८ एमएम मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आउने भएको छ ।
बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्स रहेको स्थानमा नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रा.लि.ले सञ्चालनमा ल्याउन लागेको यो मनोरञ्जन केन्द्र आगामी कात्तिक १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने
सञ्चालकहरूले बताएका छन् ।
परियोजनामा प्रकाश भुसाल, दीपक ढकाल, सिद्धार्थ थापा र सुदीप काफ्लेको लगानी रहेको छ । सञ्चालक दीपक ढकालका अनुसार बुटवलमा मनोरञ्जनका नयाँ गतिविधि थप्नुका साथै स्थानीय बासिन्दा, बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परियोजना अघि बढाइएको हो ।
मनोरञ्जन केन्द्रको प्रमुख आकर्षणका रूपमा रहने १८ एमएम मुभी थिएटरमा चलचित्र हेर्दा केवल पर्दामा दृश्य हेर्ने मात्र नभइ चलचित्रका दृश्यअनुसार विशेष प्रभावको अनुभूति लिन सकिने सञ्चालकहरूको भनाइ छ । चलचित्रमा देखिने विभिन्न दृश्यलाई विशेष प्रभावसँग जोडेर दर्शकलाई आफू पनि त्यही दृश्यको हिस्सा बनेजस्तो अनुभव गराउने उद्देश्य थिएटरको रहेको छ । यसले परम्परागत रूपमा चलचित्र हेर्ने अनुभवभन्दा फरक, रोमाञ्चक र सहभागीतामूलक मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रका दृश्यसँगै आउने प्रभावले दर्शकमा उत्साह, रोमाञ्च र कौतुहलता बढाउने भएकाले विशेष गरी बालबालिका, युवा तथा परिवारका सदस्यका लागि यस्तो थिएटर नयाँ अनुभव बन्न सक्ने सञ्चालकहरूको केन्द्रको अर्को प्रमुख आकर्षण मिरर मेज अर्थात् ऐनाको भुलभुलैया हुनेछ ।
ऐनै–ऐनाले बनाइएको संरचनाभित्र प्रवेश गरेपछि एउटै स्थानमा अनेकौं बाटा र प्रतिबिम्ब देखिने भएकाले बाहिर निस्कने बाटो पहिचान गर्नु नै चुनौतीपूर्ण हुन्छ । मिरर मेज केवल मनोरञ्जनको माध्यम मात्र नभइ दृश्य भ्रम, दिशाबोध र समस्या समाधान गर्ने क्षमतासँग जोडिएको अनुभव पनि हो ।
ऐनामा देखिने असंख्य प्रतिबिम्बका कारण वास्तविक बाटो र प्रतिबिम्बबीच छुट्याउन कठिन हुने भएकाले सहभागीले धैर्य र ध्यानपूर्वक बाटो खोज्नुपर्ने हुन्छ । यही कारण मिरर मेज बालबालिका, युवा तथा परिवारका सदस्यहरू सँगै सहभागी भएर रमाइलो गर्न सक्ने मनोरञ्जनको माध्यम बन्ने अपेक्षा गरिएको छ ।
सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो बनाउन चाहनेहरूका लागि पनि यस्तो संरचना आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ । सञ्चालक प्रकाश भुसालका अनुसार नयाँ मनोरञ्जन केन्द्रले बुटवल घुम्न आउने आन्तरिक पर्यटकका लागि थप एउटा गन्तव्य सिर्जना गर्नेछ । ‘बुटवलमा घुम्न र मनोरञ्जन गर्न आउने आन्तरिक पर्यटकले नयाँ अनुभव लिन सकून् भन्ने उद्देश्यले परियोजना अघि बढाएका हौं,’ भुसालले भन्नुभयो । उहाँका अनुसार मनोरञ्जन केन्द्रले पर्यटकको बसाइ लम्ब्याउन सहयोग गर्नुका साथै स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बुटवल पछिल्लो समय व्यापार, शिक्षा, स्वास्थ्य तथा पर्यटनका गतिविधिको केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बुटवलमा आउने मानिसका लागि नयाँ प्रकृतिका मनोरञ्जनात्मक गतिविधि थपिँदा शहरको पर्यटन आकर्षणसमेत बढ्न सक्ने व्यवसायीहरूको अपेक्षा छ ।
सञ्चालकका अनुसार केन्द्रमा प्रवेश तथा मनोरञ्जनका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ टिकटदर तोकिएको छ । संस्थागत तथा समूहगत रूपमा आउने दर्शकका लागि भने विशेष छुट वा सहुलियतको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।
नयाँ पुस्ता, परिवार र पर्यटकलाई लक्षित गरेर फरक किसिमको मनोरञ्जन उपलब्ध गराउने तयारी गरिएको सञ्चालकहरूले बताएका छन् । लस्थानीय पर्यटनमा नयाँ गन्तव्य थप्ने उद्देश्यसहित निजी क्षेत्रबाट गरिएको यस्तो लगानीले बुटवलको मनोरञ्जन व्यवसायलाई थप विविध बनाउन सक्ने अपेक्षा गरिएको छ ।
चलचित्र, विशेष प्रभाव र मिरर मेजजस्ता नयाँ अनुभव एउटै केन्द्रमा उपलब्ध हुने भएकाले सञ्चालनपछि यसको आकर्षण कति बढ्छ भन्ने कुरा भने आगामी दिनमा देखिनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij