२०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

टुगा आस्थाको आठौं साधारण सभा, निर्णय प्रमाणितका लागि प्रतिनिधि छनोट

आइतवार , आश्विन १८, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, १८ असोज । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित ठुटीपीपलमा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आठौं साधारण सभाको एकाई बैठक सम्पन्न गरेको छ । 
    ३ वटा सेवा केन्द्र रहेको सहकारीको ठुटीपीपल, कोटिहवा र भैरहवामा भएको एकाई बैठकले विभिन्न १९ वटा प्रस्ताव पारित गरी निर्णय प्रमाणितका लागि प्रतिनिधि छनोट गरेको हो ।

    एकीकरणपछि जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीमा हाल ७ हजार ५ सय ७३ सदस्य रहेको सहकारीले सुशासन, आन्तरिक अनुशासन र पारदर्शीतालाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह भइरहेको संस्थाका अध्यक्ष डि.बी. थापाले बताउनुभयो । ‘टुगा आस्था विकासमा, मन पनि धन पनि’ भन्ने मूलमन्त्रका साथ २१ वर्ष अघि स्थापित सहकारीहरू एकीकृत भइ अघि बढेको चर्चा गर्दै अध्यक्ष थापाले वर्तमान आर्थिक अस्थिरताका बीच पनि संस्थाले राम्रो पूँजी बनाउन सफल भएको जानकारी दिनुभयो ।

    प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले भन्नुभयो–‘सहकारीमा जे मन लाग्यो त्यही गर्न पाइन्छ भन्ने मान्यता सहकारीकर्मीको होइन । एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनाका साथ सदस्यको शेयर र बचत सुरक्षित राख्नु, सही परिचालन गर्नु र मुनासिब प्रतिफल दिनु नै हाम्रो प्रमुख दायित्व हो ।’ 

    संस्थाले केवल वित्तीय कारोबारमा मात्र सीमित नरही सामाजिक, साँस्कृतिक र वातावरणीय क्षेत्रमा पनि योगदान पुर्याउँदै आएको उहाँले बताउनुभयो । संस्थाको कारोबार बढ्दै गएसँगै अवसर र चुनौती पनि बढेकोले यसलाई कार्यकुशलतापूर्वक सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउँदै आन्तरिक सुशासन र पारदर्शीतालाई केन्द्रबिन्दुमा राखी संस्थाको समग्र विकास र विस्तारमा क्रियाशिल हुनका लगि विभिन्न योजनाहरु अघि सारिएको उहाँले बताउनुभयो ।

    आधुनिक प्रविधिको प्रयोगमार्फत सदस्यहरूलाई सर्वसुलभ, अनुशासित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउन संस्था प्रतिबद्ध रहेको सहकारीका मुख्य व्यवस्थापक लक्ष्मण काउचाले बताउनुभयो । 

    इकाई बैठकमा बोल्दै अतिथिहरुले टुगा सहकारीले सदस्य र समुदायमा पारेको सकारात्मक प्रभाव र विश्वास जितेको बताउँदै शेयर सदस्य सचेत भएमा सहकारी दिगो हुने बताए ।

    २१ जना कर्मचारी रहेको संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ । विभिन्न छाता संघहरुमा आबद्ध रहेको संस्थाको वार्षिक साधारण सभाको निर्णय प्रमाणित सभा आगामी शनिबार गरिनेछ । 

    सभामा सबै सेवा केन्द्र स्तरीय साधारणसभाबाट चयन भएका निर्णय प्रमाणित गर्ने प्रतिधिधिहरु, उपसमितिहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, कर्मचारीहरुको उपस्थितिमा अन्तिम निर्णय प्रमाणित सभा संस्थाको प्रधान कार्यालयमा हुने संस्थाका सचिव गोकुल पोखरेलले बताउनुभयो ।

    836727360_4120637078070064_1039994189570610664_n.jpg

    एकाई बैठकमा आर्थिक प्रतिवेदन,संस्थाको नितिगत प्रस्ताव र योजना सहितको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पेश गरिएको थियो । सभाको अवसरमा विभिन्न विद्यामा सम्मान गरिएको थियो । संस्थाले सदस्यहरूको वित्तीय सुरक्षा, सुविधा र सामाजिक कल्याणलाई प्राथमिकता दिदै विभिन्न प्रभावकारी सेवाहरू सञ्चालन गर्दै आएको छ । सहकारीमा सदस्यहरुका लागि ऋण बीमा, बचतमा दैनिक हिसाबले ३/३ महिनामा बजार अनुकूल ब्याज भुक्तानी, नियमित किस्ता–ब्याज बुझाउँदा नगद छुट, १५ दिनको ग्रेस अवधि र कारोबारका आधारमा संरक्षित पूँजी फिर्ता कोष वितरणको व्यवस्था गरिएको छ । 

    साथै ई–टेलर, मोबाइल बैंकिङ, भुक्तानी पूर्जा, २५ हजारसम्म बिना ब्याजको संकटकालीन सापटी र २५ लाखसम्मको ऋण बीमा सुविधा उपलब्ध छ । यसबाहेक सदस्यहरूको सुरक्षा र हितका लागि ५ लाखसम्मको सामूहिक दुर्घटना बिमा, ३ पोइन्ट निःशुल्क रगत, २५ हजारसम्मको शोक राहत, जेष्ठ सदस्य पेन्सन, निरन्तर सदस्य शिक्षा तथा समुदाय लक्षित सामाजिक क्रियाकलापहरू सञ्चालन गरिरहेको छ । 

    संस्थामा २०८३ को असाढ मसान्तसम्म ९६ करोड ९७ लाख पूँजी रहेको छ । त्यस्तै ७ करोड ७८ लाख शेयर पूँजी, ७३ करोड बचत निक्षेप, ६३ करोड ऋण लगानी, संस्थागत पूँजी ६ करोड ५१ लाख  रहेको छ । संस्थाको शुद्ध नाफा १ करोड ८ लाख भएको छ । संस्थामा १ हजार १६४ जना बाल सदस्य समेत रहेका छन् ।