२०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

काँग्रेस केन्द्रीय सदस्यमा सुस्मिता ढुंगानाको उम्मेदवारी

आइतवार , आश्विन १८, २०८३

  • 283
    Shares
  • 283
    Shares
  • भैरहवा, १८ असोज । नेपाली काँग्रेसकी युवा नेतृ सुस्मिता ढुंगानाले पार्टीको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    युवा तथा महिला सहभागीतालाई प्राथमिकतामा राख्दै उहाँले आफूलाई ३५ वर्षमुनीका युवा महिला समूहबाट केन्द्रीय सदस्य पदको उम्मेदवारका रूपमा अघि सार्नुभएको छ ।

    ढुंगानाले पार्टीमा युवा पुस्ताको अर्थपूर्ण सहभागीता, महिलाको सशक्तिकरण तथा समावेशी नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । उहाँले ‘सशक्त युवा, सक्षम नारी, समृद्ध नेपालको लागि हामी प्रतिबद्ध छौं’ भन्ने मूल सन्देशसहित आफ्नो राजनीतिक अभियान अघि बढाएको बताउनुभयो ।

    उहाँको अभियानमा महिला सशक्तिकरण र समान सहभागीता, शिक्षा–स्वास्थ्य तथा गुणस्तरीय रोजगारी, युवा नेतृत्व र समावेशी राजनीति तथा समृद्ध, स्वच्छ र हरित नेपाललाई प्राथमिकतामा राखिएको छ । ढुंगानाले जिम्मेवार नेतृत्वमार्फत पार्टीलाई थप सुदृढ बनाउँदै युवा पुस्ताको आवाजलाई काँग्रेसको निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले राजनीति आफ्नो लागि पद प्राप्त गर्ने माध्यम नभइ समाज र संगठनप्रतिको जिम्मेवारी भएको बताउनुभएको छ ।

    ढुंगाना रुपन्देही क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको थियो । उहाँ उद्यमी तथा बैंकिङ क्षेत्रको अध्ययन र कार्यअनुभव भएकी युवा हुनुहुन्छ । ढुंगाना विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुनुहुन्छ। सामाजिक क्षेत्रमा समेत सक्रिय ढुंगानाले लायन्स क्लबमा सदस्य तथा पूर्व कोषाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको छ । विभिन्न सामाजिक संस्थामार्फत समुदायसँग जोडिएर काम गर्ने अवसर पाएको उहाँको भनाइ छ।

    १५ औं महाधिवेशनमा मतदान गरी आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन उहाँले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी नयाँ पुस्ताको आवाज, विचार र जिम्मेवारीलाई पार्टीको निर्णय प्रक्रियासँग जोड्ने प्रयास भएको उहाँले बताउनुभयो । युवालाई राजनीतिको भविष्य भनेर मात्र सम्बोधन नगरी अहिलेको निर्णय प्रक्रियामै अर्थपूर्ण सहभागीता सुनिश्चित गर्नुपर्ने उहाँको धारणा छ ।