
शनिवार , श्रावण १०, २०८२
बुटवल, १० साउन । रोटरी क्लब अफ रुपन्देहीको १४ औं पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रवार एक समारोहकाबीच क्लबको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । क्लबका वर्ष २०२४÷२५ का अध्यक्ष प्रमोद पन्थी नेतृत्वका पदाधिकारीले वर्तमान अध्यक्ष कृष्ण गौतम लगायतका पदाधिकारीहरूलाई पद हस्तान्तरण गर्नुभएको हो ।
पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्य तथा क्लबका वर्तमान अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा भएको थियो ।
समारोहमा वर्ष २०२४÷२५ का अध्यक्ष प्रमोद पन्थीले वर्ष २०२५/२०२६ का अध्यक्ष कृष्ण गौतमलाई चार्टड प्रमाणपत्र, ग्राभल र ह्यामर हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथि कार्कीले क्लबका अध्यक्ष कृष्ण गौतमलाई रोटरीको कल्लर लगाउनुभएको थियो । कल्लर ग्रहणपश्चात क्लबका अध्यक्ष गौतमले क्लबको नियमित ६१७ औं बैठक आह्वान गर्दै सञ्चालन गर्नुभएको थियो ।
समारोहमा वर्तमान अध्यक्ष कृष्ण गौतमले वर्ष २०२५/२०२६ को बोर्डलाई परिचित गराउँदै शपथग्रहण गराउनुभएको थियो । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष प्रमोद पन्थीले वर्ष २०२४/२०२५ मा गरेका कार्यहरूको प्रकाश पार्दै वर्ष २०२४÷२०२५ मा विशेष सहयोग गर्ने सदस्यहरूलाई सम्मान समेत गर्नुभएको थियो ।
सो अवसरमा शुभकामना व्यक्त गर्दै डिष्ट्रिक्ट गभर्नर कार्कीले रोटरीको भावना र मर्म अनुसार काम गर्न क्लब नेतृत्व र सदस्यहरूलाई सुझाव दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा क्लबका एसाइन असिस्टेन्ट गभर्नर दिनेश सुवेदी तथा क्लबका संस्थापक अध्यक्ष राजेन्द्र सुवेदीले शुभकामना शुभकामना व्यक्त गर्दै क्लबको विगतका सकारात्मक अभ्यासहरूलाई निरन्तरता दिदै थप सृजनशील भएर लाग्न आग्रह गर्नुभएको ।
पदस्थापन समारोहमा पत्रकार डि.बी. सुस्लिङलाई क्लबले प्रदान गर्दै आएको रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको थियो । क्लबका पूर्व अध्यक्ष गौतम भुसालले आफ्ना स्व. हजुरबुबा केशवराज भुसाल र हजुरआमा हिमादेवीको स्मृतिमा क्लबले प्रदान गर्ने गरी स्थापना गरेको पुरस्कार हरेक वर्ष प्रदान गरिदै आएको छ । उक्त पुरस्कार यस अघि क्लबले पत्रकार भगवती पाण्डेलाई प्रदान गरिएको थियो ।
सो अवसरमा पुरस्कारका संस्थापक क्लबका पूर्वअध्यक्ष गौतम भुसालले क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा विशेष कलम चलाउने एकजना पत्रकारलाई हरेक वर्ष रु. ११ हजार १ सय ११ नगद तथा प्रमाणपत्रसहित सम्मान गरिदै आएको बताउनुभयो । पुरस्कार रकमलाई समेत क्रमशः वृद्धि गरिने उहाँले जानकारी दिनुभयो ।
क्लबका प्रेसिडेन्ट नोमिनी तथा कार्यक्रम संयोजक विक्रम रिजालको स्वागत मनतब्य तथा क्लबका पूर्वअध्यक्ष देवानन्द पान्डेको धन्यवाद ज्ञापन रहेको समारोहको सञ्चालन वर्ष २०२५÷२६ का सचिव ओम बहादुर खत्रीले गर्नुभएको थियो ।
तिलोत्तमा क्षेत्रलाई मध्यनजर गरी यसै क्षेत्रका विभिन्न पेशा व्यवसायमा संलग्नहरूको सक्रियतामा सन २०११ मा मणिग्राममा रोटरी क्लब अफ रुपन्देही स्थापना गरिएको हो । हाल क्लबमा ६८ जना सदस्यहरू छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij