२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

मर्चवारमा बढ्यो सवारी दुर्घटना

बिहिवार , श्रावण ८, २०८२

भैरहवा, ८ साउन । रूपन्देहीको मर्चवार क्षेत्रमा आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनाको तथ्यांक उच्च छ । एक वर्षको अवधिमा यस क्षेत्रमा भएका कुल ८५ वटा सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने १ सय १३ जना घाइते भएका छन् ।

तथ्यांक अनुसार, इलाका प्रहरी कार्यालय मझगावाँको कार्यक्षेत्रमा ५७ वटा दुर्घटना भएका थिए । जसमा एक जनाको मृत्यु र ७५ जना घाइते भए । त्यसै गरी, इलाका प्रहरी कार्यालय मर्चवारको कार्यक्षेत्रमा २८ वटा दुर्घटनामा तीनको मृत्यु र ३८ जना घाइते भए । प्रहरीका अनुसार २०८१ साउन ४ गते ट्याक्टर, असोज १९ र फागुन ८ गते मोटरसाइकल तथा २०८२ असार १० गते बस दुर्घटना हुँदा मानवीय क्षति भएको थियो ।
तीन गाउँपालिका र करिब डेढ लाख जनसंख्या भएको मर्चवारमा सवारी चापको तुलनामा सडक अत्यन्तै साँघुरो र जीर्ण छ । इप्रका मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले साँघुरा सडक, अत्यधिक सवारी चाप, तीव्र गति र ट्राफिक सचेतनाको कमी दुर्घटनाका मुख्य कारण भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘सवारी दुर्घटना न्यूनीकरणका लागि सरकार, सवारीचालक र सडक अतिक्रमण गर्ने व्यक्ति समेत जिम्मेवार हुनुपर्छ ।’

विशेष गरी बिहान १० बजेको समयमा मर्चवारका मुख्य बजारहरू गोनहा, मर्यादपुर, मझगावाँ, परसहवा, मन्झरिया, दुईमोहान र खखडउर बेतकुइयाँमा कार्यालय र विद्यालय जाने सवारीसाधनको अत्यधिक चापले ट्राफिक जाम हुनुका साथै दुर्घटनाको जोखिम बढाएको छ । यस क्षेत्रमा ५० सामूदायिक विद्यालय, ४१ निजी विद्यालय र ४० मदरसा सञ्चालनमा छन्, जसले गर्दा विद्यार्थी र कर्मचारीको आवतजावत बाक्लो हुन्छ  ।

विकासमा सधै पछि परेको यस क्षेत्रको दुर्दशाप्रति स्थानीय र जनप्रतिनिधि दुवै चिन्तित छन् । लुम्बिनी प्रदेश सांसद् कन्हैया बनियाले मर्चवार विकासमा उपेक्षित भएको र यहाँ जिम्मेवार कर्मचारीसमेत बस्न नरुचाउने गरेकाले समस्या झनै अल्झेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ’जिम्मेवार कर्मचारी राती कोही बस्दैनन ।’

‘व्यवस्था र सरकार पटक–पटक फेरिए पनि मर्चवारको अवस्था उस्तै छ,’सामुदायिक विपत व्यवस्थापन समिति राष्ट्रिय संजालका निवर्तमान अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले भन्नुभयो–‘स्वास्थ्य, शिक्षा, विद्युत र सडकजस्ता आधारभूत सुविधा पनि हाम्रा लागि कल्पना जस्तै भएको छ । यो अवस्था अब फेरिनैपर्छ ।’ उहाँले मर्चवार क्षेत्रलाई सदरमुकामसँग जोड्ने एक मात्र ‘बेल्बास–खैरा’ फोरलेन मुख्य सडकको निर्माण कार्य मर्यादपुरमै रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो-‘साँघुरो सडक र बढ्दो दुर्घटनाले मर्चवारबासीका लागि सुरक्षित यात्रा एक सपना जस्तै बनेको छ, जसका लागि तत्काल सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।’