
शनिवार , श्रावण ३, २०८२
यतिबेला मैले लाहुरेहरुको व्यवस्थापन र सञ्चालनमा रहेको गोर्खाली रेडियो, पोखरामा स्टेशन मेनेजरको रुपमा काम गर्दैछु । यो मेरो रहर र जिम्मेवारीको यात्रा हो । नेपालकै पहिलो सामूदायिक क्याम्पस, पोखरा बहुमुखी क्याम्पसबाट पत्रकारिता विषयमा स्नातक चौथो वर्षको परीक्षा दिएर नतीजाको पर्खाइमा छु । २०४७ सालमा दोस्रो श्रेणीमा गजेडी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुँ । बुटवल बहुमुखी क्याम्पसबाट गणित र स्वास्थ्य विषयमा आइएड गर्दा ३ हजार रुपैयाँ छात्रवृत्ति स्वरुप पाएकी थिएँ । पढ्नमा खुबै चेष्टा थियो मेरो । प्रारम्भिक शिक्षा हासिल गरेको पर्वत, अर्गाउँदी गाउँकै लक्ष्मीदय माविबाट कक्षा १ मा विद्यालय नै टप गर्दाको क्षण धमिलो गरी मन, मस्तिष्कमा घुमिरहन्छ । कक्षा ५ मा उत्कृष्टता हासिल गर्दा २ सय रुपैयाँ नगद पुरस्कार पाएकी थिएँ । भाइको धरालो गर्दै पढेकी थिएँ । त्यतिबेला छोरीलाई पढाउने चलन खासै थिएन ।
२०४४ सालमा हामीहरु पर्वतको महाशिला गाउँपालिका वडा नम्बर १, अर्गाउदी, रुतुङबाट रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर २ गजेडीमा बसाइँसराई गरी आइपुगेका थियौं । सोही गाउँमा रहेको गजेडी माविको कक्षा ८ मा भर्ना भर्ना हुन आइपुगेकी थिएँ । पहाड र तराईको पढाइमा आकाश–जमिनको अन्तर हुँदोरहेछ भन्ने कुरा मैले त्यतिबेला नै थाहा पाएँ । मेरा बाबा विराज र आमा धनमायाको १२ औं (६ दाजुभाइ र ६ दिदीबहिनीहरु) सन्तानमध्येकी ११ औं सन्तान हुँ म । हामी ६ दिदीबहिनीहरु भए पनि चार दिदीहरु, सानैमा बिते । ६ दाजुभाइमध्ये काँइला दाजु पहिले नै बितेका थिए ।
आफ्नै खुट्टामा उभिनुपर्छ भनेर मैले बुटवलको बेसक्याम्प नजिकै रहेको गे वे अंग्रेजी स्कूलबाट शिक्षण कार्य सुरु गरेकी थिएँ । २०७६ मा आएर पोखराको लोटस एकेडेमीबाट बीट मारें । अनि रेडियोमा पूर्णकालीन भएर सेवा गर्ने अवसर प्राप्त गरेकी छु । यतिबेला रेडियो मात्र होइन, सामाजिक अभियन्ताका रुपमा समेत गतिशील छु । विभिन्न संघ–संस्थाहरुले आयोजना गर्ने महिला सशक्तिकरण, उद्यमशीलता र उद्घोषणलगायतका तालिममार्फत् आफूलाई क्रियाशील बनाइरहन पाउँदा हर्षित छु । नयाँ पहिचान बनाउने अवसर पाएकी छु । नौलो परिचय बनाइरहँदा खुसी लाग्छ ।
पत्रकारितामा क्रियाशील म नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको प्रदेश परिषद्् सदस्य हुन पाउँदा औधी खुसी छु । त्यसैग री आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )को गण्डकी प्र्रदेश अध्यक्ष भएर महासंघलाई नेतृत्व गर्ने जिम्मवारी प्राप्त गर्दा हर्षविभोर छु । कर्तव्यबोध गरेकी छु । जिम्मेवारीलाई गन्तव्यमा पुर्याउने अभियानमा आफूलाई निरन्तर गतिशील र कर्मशील बनाइरहेकी छु । आफ्नो प्रचारमा भन्दा पनि काममा बढी जोड दिइरहेकी छु । त्यसै गरी तमू सञ्चारकर्मी संघको केन्द्रीय उपाध्यक्ष भएर कर्मशील छु । वातावरणसँग सरोकार राख्ने संस्था ‘वातावरण संरक्षणका लागि महाअभियान’ कास्कीको सदस्य भएर काम गर्ने अवसर जुरेको छ । सरसफाई अभियानमा यतिबेला आफूलाई समर्पण गरेकी छु ।
स्नातक पढ्ने क्रममा पर्वतका जेठा मामा गजबहादुर गुरुङका ठूला छोरा झकराज गुरुङसँग २०५३ सालमा मागी बिहे भयो । उनीसँगको जीवनयात्रामा तीन छोरा जन्मिए । जेठो छोरा यतिबेला वैदेशिक रोजगारबाट फर्केर पोखरामा नै छन् । माइलो छोराले गोर्खाली रेडियोमा प्राविधिक प्रमुख भइ मलाई नै सहयोग गर्दैछन् । कान्छो छोरो आईटी विषय लिएर अष्टे«लिया पढ्दैछन् । सन्तानका लालनपालन, स्याहारसुसार र शिक्षादीक्षा अनि घरव्यवहारका कारण मेरो पढाई रोकिएको थियो । पढ्न नपाउँदा मनभरी पीर हुन्थ्यो । दुःख लाग्थ्यो । तर, कान्छा छोरो रोनितले–हामी ठूला भयौं, अब आमाले पढ्दा हुन्छ भनेपछि मैले पढ्न थालें । पढ्न र सामाजिक काम गर्न उमेरले नछेक्ने रहेछ ।
श्रीमान् ज्यू यतिबेला ब्रुनाईको सिभिल जागिरे जीवन व्यतित गरेर पोखरा नै फर्किएका छन् । केही समयको बिछोडले मन पिरोलिए पनि यतिबेला सँगै हुनुको सुखानुभूति अभिव्यक्त गर्न कठिन भइरहेको छ । हेरौं ! समय र परिस्थिति मिल्दै गएमा मास कम्युनिकेशनमा स्नातकोत्तर गर्ने अठोट गरेकी छु । प्रतिज्ञा गरेकी छु । रहर र बाध्यतालाई कुटुरो पारेर जीवनमा पढ्नुको मज्जा बेग्लै हुँदोरहेछ । यो कुरा मैले यतिबेला अनुभूति गरिरहेकी छु ।
आफ्नै रेडियो गोर्खालीमा ‘ङयोइ ताँ (हाम्रो कुरा)’ कार्यक्रममार्फत् गुरुङ जाति, भाषा, संस्कार, संस्कृति र सभ्यता उत्थानका निम्ति हरेक शुक्रबार साँझ कार्यक्रम सञ्चालन गर्दै आइरहेकी छु । यसो गर्दा मलाई आनन्दको अनुभूति हुने गर्छ । गुरुङ हुनुको गर्व गर्छु । आफ्नो भाषा, साहित्य, कला, संस्कृति र संस्कारका लागि सबै जातिले सक्दो प्रयास र पहल गर्दै लोप हुनुबाट जोगाउनु सबै जातिको दायित्व हुने गर्छ ।
पत्रकारितामार्फत सेवा गरेको भन्दै तमू सञ्चारकर्मी संघ, नेपालले पूर्वसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कार दिदा आफ्नो जिम्मेवारी थपिएको अनुभव गरेकी थिएँ । फोनिजले दिएको सम्मान बिर्सिएकी छैन । प्रशंसाको भारी थुपै्र संस्थाबाट बोकेकी छु । प्रमाणपत्र थापेकी छु । दोसल्ला ओढेकी छु । यी सबै मेरा कर्मप्रति मलाई नै डोराउने प्रेरणा हुन् भनेकी छु ।
यतिबेला मेरा बाबाआमा दुवै छैनन् । भौतिक शरीर नभए पनि बाबाआमाको सम्झना र सहयोगी भावनाहरु मनमा अझै ताजा छन् । बाबा भारतीय आर्मीका पेन्सनर थिए । जेठा र माइला दाजुहरु सेवा निवृत्त भारतीय सैनिक हुन् । राहिँला दाइ हङकङमा छन् । अरु सबै नेपालमा छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij