२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

मर्चवारमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै रोटरी सेन्ट्रल लुम्बिनी

बिहिवार , मंसिर १८, २०८२

  • 157
    Shares
  • 157
    Shares
  • भैरहवा, १८ मंसिर । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया (मोतियाबिन्दु शिविर) आयोजना गर्ने भएको छ । क्लबले यही मंसिर २० गते शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगाँवामा शिविर आयोजना गर्न लागेको हो ।

    शिविरबारे जानकारी दिन बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबको वर्ष २०२५/०२६ का अध्यक्ष विष्णु शर्माले क्लबको १० औं स्थापना दिवसको अवसरमा शिविर आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण र परीक्षणका क्रममा मोतीयाबिन्दुका समस्या भएका बिरामीलाई निःशुल्क शल्यक्रिया (अपरेशन) समेत गरिने जानकारी दिनुभयो ।

    ‘२५० जना मोतीयाबिन्दुको बिरामीको शल्यक्रिया गर्ने लक्ष्य छ,’ अध्यक्ष शर्माले भन्नुभयो–‘आँखाको समस्या भइ अस्पताल तथा स्वास्थ्य केन्द्रसम्म जान नसकेका बिरामीलाई लक्षित गरेर यो शिविर सञ्चालन गर्दैछौैं ।’ मर्चवार क्षेत्रमा लक्ष्यअनुसार मोतीयाबिन्दुका बिरामी फेला नपरे अन्य स्थानमा समेत शिविर आयोजना गरिने उहाँले बताउनुभयो ।

    एभरेष्ट बैंक लिमिटेडको आर्थिक सहयोग र क्लबका सदस्यहरुबाट संकलित रकमबाट यो शिविर आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कोटहीमाई, मर्चवारीमाई र सम्मरीमाई गाउँपालिकाले शिविर सञ्चालनमा सहयोग गर्ने उहाँले बताउनुभयो । शर्माले रोटरी क्लबले अंग्रेजी महिनाको डिसेम्बरमा धेरै स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

    एभरेष्ट बैंक लिमिटेड सह–प्रायोजक रहेको शिविरमा लुम्बिनी नेत्रालय प्रा.लि. भैरहवा, रुपन्देहीले प्राविधिक सहयोग गर्ने क्लबका सचिव बासु बडालले जानकारी दिनुभयो ।

    क्लबका पूर्वअध्यक्ष हिरा बहादुर शाहले पछिल्लो समय मोतीयाबिन्दुका बिरामीको संख्या बढ्दै गएकाले ग्रामीण क्षेत्रमा शिविर आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले मधुमेह र उक्त रक्तचापका बिरामीलाई आँखाको पर्दामा बढी समस्या आएको देखिएको बताउनुभयो । उहाँले ४० वर्ष उमेर पुगेका व्यक्तिहरुले आँखाको प्रेसर पनि अनिवार्य रुपमा परीक्षण गराउन आग्रह गर्नुभयो ।

    क्लबका पूर्वअध्यक्ष प्रेमराज शर्मा लोहनीले रोटरी क्लबले आँखासम्बन्धी धेरै कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो । सन् २०१६ मा स्थापना भएको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको संस्थापक अध्यक्ष विमल सेन्चुरी हुनुहुन्छ ।