२०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

कोटहीमाईमा अपांगता भएका व्यक्तिहरुलाई सम्मान

बिहिवार , मंसिर १८, २०८२

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, १८ मंसिर । अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले ११ जनालाई सम्मान गरेको छ । बुधबार एक समारोहकाबीच गाउँपालिकाभित्रका रोजगारी तथा सेवामा आबद्ध १० जना अपांगता भएका व्यक्तिहरू तथा १ जना आमा समूहकी सदस्यलाई सम्मान गरिएको थियो ।

    सम्मान समारोहमा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले समाजसहित देश निर्माणमा प्रत्येक व्यक्तिको भूमिकालाई महत्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘अपांगता कुनै कमजोरी होइन, यो सामाजिक, संरचनागत र अवसरजन्य अवरोधले उत्पन्न भएको अवस्था मात्र हो । त्यसैले अपांगता भएका व्यक्तिहरूलाई सहानुभूति होइन, अधिकार, समानता र अवसर चाहिन्छ । हाम्रो गाउँपालिकाले ‘समावेशी विकास’ लाई मुख्य कार्यसूची बनाइ अघि बढिरहेको छ ।”

    अध्यक्ष त्रिपाठीले अपांगता भएका बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरूको पहुँच, सहभागीता र नेतृत्व सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कार्यक्रमगत पहललाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेका बताउनुभयो ।

    IMG_6286.JPG

    कार्यक्रममा सुरेश केवट, बिनोद पाल, लखराज यादव, अनिता हरिजन, अमिरका कुर्मी, सोमई पाल, सुलन कुर्मी, जमुनीदेवी गुप्ता, इसुफ अली चुरिहार, मोहम्मद शरीफ अली फकिर र पुष्पावती सहानीलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले जानकारी दिनुभयो ।

    उपाध्यक्ष सुशिला कुमारी यादवको अध्यक्षता तथा गाउँपालिकाका वास संयोजक अजय सिंह क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक तपेन्द्र बिष्ट, नमुना एकीकृत विकास परिषद् रुपन्देहीका संस्थापक अध्यक्ष ज्ञानु पौड्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।

    अपांगता भएका व्यक्तिहरुको ३४ औं अन्तराष्ट्रिय दिवस–२०८२ को अवसरमा “अपांगता समावेशी समाजको प्रवर्धन : सामाजिक उन्नतिको संवद्र्धन” नारासहित नेपाल भरी अपांगता दिवस मनाइएको छ ।