२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

युसीएमएस भैरहवामा आधारभूत शल्यक्रिया सीप कार्यशाला सम्पन्न

आइतवार , आषाढ २९, २०८२

भैरहवा, २९ असार । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा एकदिने आधारभूत शल्यक्रिया सीप कार्यशाला सम्पन्न भएको छ । युसीएमएसको शल्यक्रिया विभागको आयोजनामा कार्यशाला भएको हो ।

जुनियर चिकित्सक तथा मेडिकल विद्यार्थीहरुलाई सुरक्षित र नियन्त्रित वातावरणमा शल्यक्रियाको आधारभूत सीप र सिद्वान्तहरुमा दक्ष बनाउनु कार्यशालाको उद्देश्य रहेको युसीएमएसका सूचना अधिकारी सुशील गुरुङले बताउनुभयो । कार्यक्रमको कोर्स डाइरेक्टरको रुपमा शल्यक्रिया विभागका प्रमुख प्रा.डा.सन्तोष शाह र कोर्स संयोजकमा सह–प्रा.डा.सन्तोष मिश्रा रहनुभएको थियो । 

प्रा.डा.शाहका अनुसार यो कार्यशालाले एसप्टिक प्रविधि, उपकरण सम्हाल्ने तरिका, गाँठो कस्ने, टाँका लगाउने र टिस्यु ह्यान्डलिङ्ग जस्ता प्रत्यक्ष अभ्यासमा आधारित सीपहरु विकास गर्न केन्द्रित गर्दछ । अर्कोतर्फ कार्यशालाले आत्मविश्वास बढाउने, हातका सन्तुलन सुधार्ने र राम्रो शल्यक्रियात्मक बानी प्रवर्द्धन गर्न टेवा पुग्ने उहाँले बताउनुभयो । 

सटिकता, सुरक्षा, व्यवसायिकताप्रति जोड दिदै सहभागीहरुलाई अपरेशन थिएटरमा जिम्मेवारी लिन र शल्यक्रियासँग सम्बन्धित तालिम वा इन्टर्नसिपको तयारीमा समेत मद्दत पुग्ने उहाँले बताउनुभयो ।
कार्यशालामा संकाय सदस्यको रुपमा डा.राज कुमार के.सी., डा.किशोरमान श्रेष्ठ, डा.निश्चल गौतम, डा.विकाश चन्द्र शाह, शिक्षण अस्पताल महाराजगंज, काठमाडौंबाट डा.रन्जन सापकोटा, डा.अभिषेक भट्टराई हुनुहुन्थ्यो । 

कार्यशालामा युसीएमएसको शल्यक्रिया, हाडजोर्नी, महिला तथा प्रसुति, इमर्जेन्सी जनरल प्राक्टिस, नाक, कान तथा घाटी, ओरल म्याक्जोफेसियल सर्जरी विभागहरुबाट गरी २१ जना, लुम्बिनी मेडिकल कलेजबाट ६ जना तथा देवदह मेडिकल कलेजबाट ७ जना गरी ३४ जनाको सहभागीता थियो । 

लुम्बिनी मेडिकल कलेजका सहभागी डा.शिव तिवारीले यस्ता कार्यक्रम आवासीय चिकित्सकका लागि धेरै नै लाभदायक रहेको बताउनुभयो । यसले सिद्वान्त र व्यवहारबीचको अन्तर हटाएर चिकित्सकको आत्मविश्वास र दक्षता अभिवृद्धि गर्ने उहाँले बताउनुभयो । 

त्यस्तै देवदह मेडिकल कलेजका डा.चन्द्रेश कुमार सिंहले यो कार्यशाला आधारभूत कोर्स रहेको र यसले चिकित्सकको दिगो विकासमा मद्दत पुर्याएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ एडभान्स कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो । 

IMG_9326.jpg

कार्यशालामा सहभागी युसीएमएसका हाड तथा जोर्नी विभागका आवासीय चिकित्सक डा.आनन्द अधिकारीले कार्यक्रमले प्रारम्भिक चरणमै यस्ता सीपहरुले थिएटरमा जिम्मेवारी बहन गर्न, ‘मेडिकल त्रुटहिरु’ को सम्भावना घटाउन, पेशागत दृष्टिकोण र टिमवर्कलाई सुदृढ बनाउन टेवा पुग्ने बताउनुभयो ।