
मंगलवार , आषाढ १०, २०८२
काठमाडौं, १० असार । बर्खायम्, हिलाम्मे बाटो । बुटबल–दाउन्ने–नारायणगढको बाटो छिचोल्दै २४ घण्टा लगाएर कपिलवस्तु गजेडाका दिनेश विक काठमाडौं आए । साउदी अरब जान काठमाडौं आएका दिनेश यतिबेला काठमाडौंमा अलपत्र छन् । घरबाट हिँड्दा सब ठिकठाक थियो । काठमाडौं आएपछि बिहानपख उनलाई थाहा भयो टिकट क्यान्सिल भयो । सबै भिसा, कागजात ठिकठाक भएपनि उनी उड्न नपएको र १० बजेको टिकट रद्द भएको एयरलाईन्सले बताएको उनले बताए ।
साउदी अरब जान काठमाडौं आएका दिनेश भन्छन्– ‘अचानक टिकट क्यान्शिल भयो । काठमाडौं बिहान ५/६ बजे आइयो । १० बजेको टिकट थियो । अहिलेसम्म उड्न पाइएन । एयरलाइन्सले हात्तिसार जान भन्छ । हामीलाई केही थाहा छैनन् किन जाने ? के का लागि जाने । सरकारले हामीलाई छिटो पठाउनुपर्यो ।’ दिनेशलाई उडान किन रोकियो त्यो पनि थाहा छैन ।
झापाका किरणकुमार मुखिया सुनुवार दुबई जानका लागि हिजो काठमाडौंमा आए । राति ११ बजेर ४५ मिनेटको उडान भएपनि उनी उड्न पाएनन् । इरानले कतारमा आक्रमण गरेपछि सबै उडान रोकिएपछि अहिलेसम्म उड्न नपाएको सुनुवार बताउछन् ।
उनी भन्छन्–‘कतारमा बमबारी भएका कारण उड्न रद्ध भएको भनियो । मिडियाहरुमा पनि त्यही देखियो । अहिलेसम्म आधिकारीक रुपमा केही जानकारी आएको छैनन् । रातिदेखि चिसो भुँइमा पानी परिरहेको थियो । त्यही बस्नुप¥यो । एयरलाइन्सवालाहरुले बाहिर जानु । मेनपावरसँग सम्पर्क गर्न भन्छ । मेनपावरले एकछिन त्यहीँ बस भन्दैछ । के गर्ने दोधारमा छु ।’
उनले काठमाडौंमा आफूहरु अलपत्र परेको बताए । सुनुवारकाअनुसार खाना बस्नका लागि कुनै केही व्यवस्था छैन । उनले हिमालय एयरलाइन्सको टिकट काटेका थिए । स्पेन जानका लागि पोखराबाट काठमाडौं आएकी हिमा कार्की अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेकी छन् ।
उनी भन्छिन्–‘हिजो पोखराबाट आए । होटलमा बसे । अहिले उड्न समयमा यहाँ आउँदा रोकिएको छ । पहिल्यै हामीलाई सूचनाहरु हुनुपथ्र्यो । यदी रोकिने भए । केही जानकारी पाइएन । यो त हाम्रो सरकरको लापरबाही हो जस्तो लाग्छ । भोली अफिस जानु छ । नाति छोरी पनि सँगै छन् । अलपत्र परियो ।’
उहाँकाअनुसार कतार एयरलाइन्सले पनि यात्रुलाई होटलको व्यवस्था गरेर राख्नुपथ्र्यो । तर सयौं यात्रु अलपत्र पारेको छ । धनगढीका रामकुमार सदार साउदी अरब जानका लागि रातरात काठमाडौं आए । तर अहिलेसम्म उड्न पाएका छैनन् ।
उनी भन्छन्–‘२३ तारिखको फ्लाइट थियो । १० बजेर ५ मिनेटको फ्लाइटमा उड्न पाइएन । हामीलाई कुनै जानकारी दिइएन । फ्लाइट क्यानिसल गरियो । पेलेनमा गएर एक डेढ घण्टा बसियो । पछि प्लेन उडेन ।’
अहिले आफूहरु अलपत्र परेको उनले बताए । खाना बस्नका लागि आफूहरुसँग पैसा पनि नभएको उनको भनाई छ । उनीहरुजस्तै सयौँ जना यतिबेला त्रिभुवन विमानस्थलमा अलपत्र छन् । कतिबेला उड्ने उनीहरुलाई पत्तो छैन ।राज्यले पनि सहजीकरण गर्न सकिरहेको छैन । इरानले आफ्ना आणविक भट्टीहरूमा अमेरिकी आक्रमणको बदलामा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो । रातिदेखि खाडिका उडान बन्द भएपछि सरकारले अलपत्र यात्रुका बारेमा चासो नदेखाएको उड्न नपाएका अलपत्र यात्रुहरुले बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij