२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव: अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कला, संस्कृति र चलचित्रको सशक्त पाइला

सोमवार , बैशाख २९, २०८२

  • 433
    Shares
  • 433
    Shares
  • नेपाली कला, संस्कृति , भाषा साहित्य र चलचित्र उद्योगलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित थर्ड आई लिमिटेडले लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव आयोजना गर्ने तयारी गरेको छ।

    संस्थाका अध्यक्ष विकास देवकोटाका अनुसार, यो महोत्सव नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा टेवा पुग्ने ऐतिहासिक अवसर हुनेछ। हाम्रो नेपाली समाज, संस्कृति र मुलुकको कथा बोकेका चलचित्रहरु लन्डनमा प्रस्तुत गर्दैछौं ।
     देवकोटाले बताए, “यसले नेपाली चलचित्र उद्योगको विकास र बिस्तार मात्र होइन, नेपाली भाषा र सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

    महोत्सवको अर्को उद्देश्य प्रवासी नेपाली समुदायलाई समकालीन नेपाली चलचित्रहरुको प्रवृत्ति, विषयवस्तु र प्रस्तुतीकरणको शैलीबारे अवगत गराउनु हो। साथै, नयाँ दृष्टिकोण बोकेका चलचित्रहरूमार्फत अन्तर्राष्ट्रिय दर्शकसम्म नेपाली चलचित्रको पहुँच विस्तार गर्ने उद्देश्य लिइएको छ।

    महोत्सवमा सहभागी हुन चाहने चलचित्र नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्नेछ, अथवा नेपाली वा अङ्ग्रेजी सबटाइटलसहित प्रस्तुत गरिनुपर्नेछ। हालसम्म विश्वभरबाट ३९८ वटा आवेदन प्राप्त भइसकेका छन्। तीमध्ये जुरी(निर्णायकहरु) ले १० उत्कृष्ट चलचित्रहरू छनोट गर्नेछ, जसमा ३ वटा नेपालमै निर्माण भएका चलचित्रहरू हुनेछन्। चयन गरिएका चलचित्रहरू युकेका विभिन्न सहरहरूमा र विभिन्न डिजिटल प्लेटफर्महरूमा समेत प्रदर्शन गरिनेछ।

    समापन समारोहमा नेपाल र बेलायतका चर्चित कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। नेपाली चलचित्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मानपत्र प्रदान गरिनेछ। सहभागी  चलचित्रकर्मीहरूमा सन्तोष पन्त, विपना थापा, दिनेश डिसी, धिरेन साक्य, मोहन निरौला, रविन्द्र खड्का, निति शाह, सुवानि मोक्तान, एलिस कार्की, सुवास भुसाल, प्रताप दास, आश्मा विश्वकर्मा र राजेश बर्देवा लगायतका विशिष्ट व्यक्तित्वहरू रहेका छन्। समारोह १८ मे शुभारम्भ भइ --३१ मे गते समापन हुनेछ ।

    “यो महोत्सव केवल आजको उत्सव होइन,” आयोजकहरू भन्छन्, “यो त भोलिका सर्जकहरूका लागि प्रेरणाको स्रोत हो—जसले नेपाली चलचित्रमा आफ्नो भविष्य खोजिरहेका छन्। अभिनेता, निर्देशक वा निर्माता बन्न चाहने नयाँ पुस्ताका लागि यो महोत्सव एउटा सशक्त प्लेटफर्म हो। आउनुहोस्, सँगै हातेमालो गरेर नेपाली चलचित्रको भविष्य उज्यालो बनाऔं।”