२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

पहुँचयुक्त संरचना निर्माणमा प्रदेश सरकारको विशेष ध्यान : मुख्यमन्त्री आचार्य

शुक्रवार , बैशाख १९, २०८२

  • 907
    Shares
  • 907
    Shares
  • दाङ, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपांगता भएका व्यक्तिहरुको सहज पहुँचका लागि अपांगतामैत्री संरचना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय अपांग महासंघका संघीय अध्यक्ष देविदत्त आचार्यको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार भएको संवादमा मुख्यमन्त्री आचार्यले सरकारले बनाउने हरेक संरचना अपांगतामैत्री बनाउने कार्य थालिएको र पूराना संरचनालाई पनि सुधार गरेर पहुँच सुनिश्चित गरिने स्पष्ट पारेका छन् ।

    ‘अपांगता भएका व्यक्तिहरुको सवाल र मुद्दा सरकारका पनि सवाल र मुद्दा हुन् । विगतदेखि नै यी सवालमा सरकारले ध्यान दिदै आएको छ । आगामी दिनहरूमा पनि प्राथमिकतामा राखेर सरकारले अघि बढाउँछ’ मुख्यमन्त्री आचार्यले भने–‘सरकारले अपांगता ऐन ल्याउने विषयमा गृहकार्य गरिरहेको छ र प्रक्रिया अघि बढाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको छु ।’

    राष्ट्रिय अपांग महासंघ नेपालका संघीय अध्यक्ष देविदत्त आचार्य, संविधान सभा सदस्य देवराज भार, राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका प्रदेश व्यवस्थापक धिरेन्द्र विक, लेखापाल महानन्द पोखरेल, अपांग अभियानकर्ता सरोजा भण्डारीलगायतको टोलीले मुख्यमन्त्री आचार्य तथा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालसँग छलफल गरेको हो । छलफलमा अपांगता ऐन, अपांगता समन्वय समिति, अपांगता सहायता सामग्री, अपांगताको क्षेत्रमा छुट्याइएको बजेटलगायतका विषयमा चर्चा गरिएको थियो ।

    प्रदेशस्तरीय पुनःस्थापना केन्द्र सञ्चालनका लागि सरकारले सहयोग गर्नुपर्ने, अपांगतामैत्री संरचना बन्न थाले पनि ती संरचना पहुँचयुक्त हुनुपर्ने, सांकेतिक भाषा तालिम तथा प्रशिक्षण सञ्चालन गर्नुपर्ने जस्ता विषयमा राष्ट्रिय अपांग महासंघका अध्यक्ष देविदत्त आचार्यले जानकारी गराएका थिए ।