
मंगलवार , बैशाख ९, २०८२
भैरहवा, ९ वैशाख । पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको समूहले गरेको आक्रमणको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ । समाचार संकलनका क्रममा रुपन्देहीको मर्चवार जाँदै गरेका पत्रकार विश्वकर्माले मायादेवी गाउँपालिका–६ स्थित मकरीमा तस्करी भइरहेको भिडियो खिच्ने क्रममा तस्करहरुको समूहले आक्रमण गरेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग बुटवल कार्यालयका मानव अधिकार अधिकृत आशिष श्रेष्ठको नेतृत्वको टीमले घटनाबारे जानकारी लिएको विश्वकर्माले बताए । श्रेष्ठसँगै अधिकृत सुप्रिना चौधरी र सूचना प्रविधि सहायक अर्जुन खनालले घटनाको विषयमा जानकारी लिएका थिए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लि. (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि तस्करहरुको समूहले सांघातिक आक्रमणको प्रयास गरेको थियो ।
समाचार संकलन गर्न जाने क्रममा भैरहवा–मर्चवार सडकको मूल खण्डमा खुलेयाम लाइन लागेर विभिन्न सवारीमा भइरहेको तस्करीको दृश्य देखेपछि क्यामेरामा कैद गर्ने क्रममा आफूलाई दीपेश यादव बताउने तस्करहरुको समूहले आक्रमण प्रयास गरेको विश्वकर्माले जानकारी दिए । तस्करहरुको समूहले झोला खानतलासी गर्नुका साथै क्यामेरा, मिडिया हाउसको परिचयपत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हालेर बन्धक बनाउने काम गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij