२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : कुन अदृष्य शक्तिले चल्न दिएन ?

मंगलवार , चैत्र २५, २०८१

  • 796
    Shares
  • 796
    Shares
  • बुटवल, २६ चैत । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ । सरकारले गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि कुनै कसर बाँकी नराखेको दावी गरे पनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालन हुन नदिने अदृष्य शक्ति को हो ? भन्ने प्रश्न गरेको छ । 

    निजी क्षेत्रका लुम्विनी प्रदेशस्तरीय संघ–संस्थाहरुले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै ‘कुन अदृष्य शक्तिले लुम्बिनी प्रदेशको समृद्धिको आधारको रुपमा स्थापना भएको गौतमबुद्ध विमानस्थल सञ्चालन हुन रोकिरहेको छ ? त्यस्ता अवरोधहरु छिचोल्न निजी क्षेत्रकातर्फबाट सरकारलाई कस्तो खालको सहयोगको आवश्यकता परेको हो ?’ भन्दै उनीहरुले सरकारलाई प्रश्न गरेका छन् । 

    विज्ञप्तीमा विमानस्थल सञ्चालनका लागि तदारुकता देखाएको भने पनि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक आधारभूत कार्यालयहरु भैरहवामा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि जनाइएको छ । वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरुका लागि म्यानपावर कम्पनीका कार्यालयहरु र श्रम तथा स्वास्थ्य परीक्षण कार्यालयहरुको स्थापनाका लागि निजी क्षेत्रकातर्फबाट पटकपटक आग्रह गर्दा पनि सुनुवाई हुन नसकेको भन्दै उनीहरुले विमानस्थलको दूरावस्था देखेर निजी क्षेत्र चिन्तित भएको उल्लेख गरेका छन् । 

    विमानस्थल निर्माण सुरु भएसँगै उत्साहित भएर सरकारकै आव्हानमा यस क्षेत्रका पर्यटन व्यवसायीहरुले गरेको ५० अर्ब भन्दा बढीको लगानी जोखिममा रहेको भन्दै उनीहरुले विभिन्न बहानामा निजी क्षेत्रलाई पटकपटक निराश बनाउने काम नगर्न चेतावनी दिएका छन् । नियमित यात्रु पाउँदा पनि कतिपय वायुसेवा कम्पनीहरुले उडान कटौती गरेको सुनिएकाले त्यस्तो किन भएको हो र कटौती भएका उडानहरु पुनः फिर्ता ल्याउन सरकारले सक्दो पहल गर्न नसक्नुको कारण पनि माग गरेका छन् । 

    विज्ञप्तीमा नेपाल चेम्वर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक प्रसाद पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उद्योग परिसंघ लुम्विनी प्रदेशका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गणेश प्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।