२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मदिरा व्यवसायी संघ भैरहवाद्वारा भित्तेपात्रो विमोचन, व्यवसायिक एकतामा जोड

आइतवार , चैत्र २३, २०८१

भैरहवा, २४ चैत । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । वार्षिक कार्ययोजना अनुसार कार्यक्रम गरिएको संघका अध्यक्ष बाबुराम पाण्डेले बताए । संघले व्यवसासीको हकहितको लागि आवाज उठाउनुका साथै सामाजिक कार्यलाई पनि निरन्तरता दिएको उनले बताए ।

संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले मदिरा व्यवसायी संघ भैरहवाले अभिभावकत्व पाएको महसुस भएको बताए । उनले संघले सामाजिक कार्य गर्दै आएको बताए । ज्ञवालीले व्यवसायी संस्थागत रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

भैरहवामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले हरेक मदिरा व्यवसायी महासंघमा आबद्ध हुनुपर्नेमा जोड दिए । ‘सबै व्यवसायीलाई आबद्ध गराउने हाम्रो उद्देश्यले हो, ’उनले भने–‘सबै व्यवसायीको समस्या समाधान गर्नुपर्छ । ’

अध्यक्ष शेर्पाले कुनै पनि व्यवसायमा लगानी लहलहैमा लागेर गर्नुभन्दा बजार अवस्था बुझेर मात्र लगानी गर्न आग्रह गरे । उनले केही घटना भए मदिराकै कारण भयो भन्ने गरिएको बताए । ‘हाम्रो व्यवसाय समस्यामा छ, तर चिन्ता नलिऔं, रातपछि दिन आउँछ, ’उनले भने । सबै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

मदिरा व्यवसायी महासंघका महासचिव गोविन्द बरालले मदिरा व्यवसायलाई हेर्ने दृष्टिकोण फरक भएको बताए । उनले मदिरा सेवन गरेर मात्र गलत कार्य नहुने भन्दै बेरोजगारीका कारण पनि आपराधिक घटना बढेको बताए । महासचिव बरालले मदिराको बील पेश गर्दा त्यसले सरकारी मान्यता पाउनुपर्ने बताए ।

मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईले खुल्ला सीमाका कारण भारतबाट अवैध रुपमा आउने मदिरा र स्वदेशमा उत्पादित घरेलु मदिराका कारण व्यवसाय संकटमा परेको बताए । ‘अवैध रुपमा आउने मदिरा र घरमा उत्पादन हुने मदिराले राजस्व तिर्दैनन्, ’उनले भने-‘करको दर नभइ दायरा बढाउनुपर्छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले नेपालको राजस्वमा मदिरा व्यवसायको ठूलो योगदान रहेको बताए । उनले मदिरा व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न सीमित समयअवधि तोकिएको बताए । ‘कि त विक्री गर्न पाइँदैन भन्नुपर्यो नभए रात्रीकालीन बजार क्षेत्र हेरेर समयअवधि बढाएर राती १२ बजेसम्म मदिरा व्यवसाय सञ्चालन गर्न दिए व्यवसायलाई राहत हुन्छ, ’अध्यक्ष आचार्यले भने–‘यसमा राज्य र व्यवसायीबीच समन्वय हुनुपर्छ ।’

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष दर्पण श्रेष्ठले स्थानीय उत्पादनको प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले रात्रीकालीन बजार सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले मदिरा व्यवसायीका जटिल समस्या समाधानका लागि सञ्जालले पहल गर्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अब पुनः आन्दोलन गर्ने बेला आएको बताए ।

वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले व्यवसायीक अनुशासन पालना गर्नुपर्ने बताए । उनले प्रहरीले व्यवसायीलाई दुुःख दिएको नबुझ्न र कानूनको पालना गरेको बुझ्न आग्रह गरे ।
कपिलवस्तु मदिरा व्यवसायी संघका अध्यक्ष कुलचन्द्र सिग्देलले भारतबाट अवैध मदिरा भित्रिदा नेपाली व्यवसायी मर्कामा परेको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले २०८२ सालमा अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे ।

नेचुरल स्प्रीट प्रा.लि.का रिजन म्यानेजर जीवन घिमिरेले मदिरा व्यवसायीका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य गोविन्द प्रसाद रेग्मीले मदिरा व्यवसायी संघले धेरै काम गर्नुपर्ने बाँकी रहेको बताए । 

कार्यक्रम संयोजक तथा मदिरा व्यवसायी संघ भैरहवाका कोषाध्यक्ष सुन्दर भण्डारीको स्वागत तथा महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_1734.JPG

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यसहित पदाधिकारीहरुलाई सम्मान गरिएको वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले बताए ।

IMG_1767.JPG