२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

मंगलवार , चैत्र १८, २०८१

  • 907
    Shares
  • 907
    Shares
  • दाङ, १९ चैत । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक मंगलबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न ११ वटा एजेण्डामा छलफल गरिएको छ ।
    लुम्बिनी प्रदेश बहुप्रकोपको जोखिममा रहेको छ । प्राकृतिक रूपमा भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हुरी, अतिवृष्टिको जोखिम छ । गैरप्राकृतिक रूपमा महामारी, आगलागी, जल दुर्घटना, सडक तथा औद्योगिक दुर्घटनाको जोखिम रहेको छ । 

    मुख्यमन्त्री आचार्यले प्रभावकारी विपद् व्यवस्थापनका लागि विपद् पूर्व, विपद् भएको अवस्था र विपद् पश्चातको अवस्थालाई ध्यानमा राखेर प्रभावकारी काम अघि बढेको बताए । ‘विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँदै क्षति न्यूनीकरणमा सबैको ध्यान जान जरुरी छ,’ उनले भने–‘विपद्मा सडक अवरुद्ध नहुने व्यवस्था गर्नुपर्छ । अवरुद्ध भएको खण्डमा तत्काल सुचारू गर्नुपर्छ । राहत वितरणमा ढिलाइ हुन नदिन जिल्ला तहबाट आउने सिफारिस छिटो आउने वातावरण बनाउनुपर्छ । सरकारले राहत वितरणमा ढिलाइ गर्दैन ।’

    WhatsApp Image 2025-04-01 at 3.31.01 PM.jpeg

    बैठकले पाल्पाको पर्यटकीय गन्तव्य रानीमहलको नदी कटान संरक्षण, तानसेनको सुकुम्बासी बस्ती सुरक्षा, बाँकेको राप्ती नदी कटान जोखिम न्यूनीकरण, कर्णाली नदीको बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा सिंचाइको काम अघि बढाउन बजेट छुट्याउने निर्णय गरेको छ । अहिलेसम्मको विवरण अनुसार चालू आर्थिक वर्ष २०८१ मा जम्मा १ हजार ७ सय ५२ विपद् घटना भएका छन् । २ सय ९८ जनाको मृत्यु भएको छ । ६ सय ४१ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता छन् । 

    २०८० सालको तुलनामा २०८१ मा मानवीय क्षति बढी भएको छ । गत वर्ष १ हजार २सय २० घटना भएका थिए । ७६ जनाको मृत्यु भएको थियो । १सय ९६ जना घाइते भएका थिए । त्यस्तै चालू आर्थिक वर्ष २०८१/८२ मा राहत र पुनर्निर्माणका लागि १ करोड २१ लाख २२ हजार रुपैयाँ वितरण गरिएको छ । राहतका लागि १ करोड ६ लाख ३७ हजार रुपैयाँ र पुनर्निर्माणका लागि १४ लाख ८५ हजार रुपैयाँ वितरण गरिएको छ । विपद् राहतलाई बीमासँग जोड्ने र सीप तथा उत्पादनसँग सम्बन्धित बनाउने योजना अघि सारिएको छ ।

    प्रमुख जिल्ला अधिकारीहरूले विपद् पूर्वतयारीको बारेमा बैठकमा जानकारी गराएका छन् ।  बैठकमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजीत थारु, प्रमुख सचिव बाबुराम अधिकारी लगायतले सम्बोधन गर्दै विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन समुदाय, सुरक्षा निकाय र सरकारको बीचमा सहकार्यमा जोड दिएका छन् ।

    बैठकको सहजीकरण आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेले गरेका थिए ।