२०८२, आश्विन २६ गते

Oct 12 2025 | २०८२, आश्विन २६ गते

तीन वर्षभित्रै भूमि समस्या समाधान हुने गरी लागिपरेका छौं : अध्यक्ष रिजाल

आइतवार , चैत्र १६, २०८१

  • 964
    Shares
  • 964
    Shares
  • परासी, १७ चैत । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी तीन वर्षभित्रमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने गरी कामलाई तीव्रता दिएको बताएका छन् । भूमि समस्या समाधान आयोग पश्चिम नवलपरासीले आइतबार परासीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रिजालले आयोगले आगामी २०८४ असोज मसान्तभित्र नेपालमा रहेका सबै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिसक्ने गरी कार्ययोजना बनाएर अघि बढेको बताएका हुन् ।

    संविधानमा गरिएको व्यवस्था अनुसार नै सबै भूमिहीन र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने उनले बताए । अध्यक्ष रिजालले सक्रियताका साथ प्रभावकारी रुपमा आयोगको कामलाई अघि बढाउन आयोगको जिल्ला समितिलाई निर्देशन दिए । उनले स्थानीय तह र जिल्ला आयोगले सक्रियतापूर्वक काम गरेको खण्डमा मात्र आयोगको काम प्रभावकारी हुने र तोकिएको समयभित्रै भूमिहीनलाई जग्गाको मालिक बनाउन सकिने उल्लेख गरे ।

    कार्यक्रममा आयोगका केन्द्रीय विज्ञ सदस्य डा.जगत बस्नेतले आयोगको कार्यविधि तथा कार्ययोजनाहरुको बारेमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा कर्मचारीहरुलाई अभिमुखीकरण गरेका थिए ।

    आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगका केन्द्रीय सदस्य अनिलकृष्ण प्रसाईँ, जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव (रुदल), सुनवल नगरपालिकाकी प्रमुख (मेयर) बिमला अर्याल, नेपाली कांग्रेसका जिल्ला उपसभापति अनिल गौड, नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, आयोगका जिल्ला सदस्य थानप्रसाद गैरे, सदस्य सचिव कैलाशनाथ पाण्डे लगायतले भूमि समस्या समाधानका विषयमा धारणा राखेका थिए ।