
सोमवार , श्रावण २६, २०७७
कपिलवस्तु, २६ साउन ।
जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि उक्त निर्णय गरिएको अस्पतालका मेडिकल सुपरीन्टेण्डेण्ट डा. किशोर बन्जाडेले बताए । अस्पतालको आन्तरिक बैठक अनुसार अत्यावश्यक आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द रहनेछन् ।
साउन २५ गते अस्पतालका फाँट प्रमुख, चिकित्सकहरु र सरोकारवालाको आन्तरिक बैठक अनुसार सेवाग्राहीलाई संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वाब संकलन गरी रिर्पोट नआएसम्मकालाई आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको हो ।
कपिलवस्तु अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मी अहिले सम्म संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा कार्यरत एक कर्मचारी २ महिना अघि संक्रमित भएकी थिइन् । उनी कोरोना जितेर काममा पनि फर्किसकेकी छन् । स्वाब संकलन गर्दै आएका अस्पतालमा कार्यरत ल्याब असिस्टेण्ट पनि संक्रमित भएका छन् । उनी अहिले आइसोलेसनमा रहेका छन् ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका अस्पतालको एक नर्सिङ कर्मचारी, एक ल्याब फाँटमा कार्यरत कर्मचारी, ऐक्स–रे र ओपीडीमा काम गर्ने कर्मचारी रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij