२०८२, चैत्र २ गते

Mar 16 2026 | २०८२, चैत्र २ गते

मिसेज लुम्बिनी प्रदेश–२०८१ : अडिसन राउण्ड सम्पन्न

सोमवार , कार्तिक १२, २०८१

  • 607
    Shares
  • 607
    Shares
  • भैरहवा, १२ कार्तिक । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको आयोजनामा सञ्चालित मिसेज लुम्बिनी प्रदेश–२०८१ अन्तर्गत शनिबार पहिलो अडिसन राउण्ड सम्पन्न भएको छ । भैरहवास्थित एसियन बुद्ध होटलमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म अडिसन भएको क्लबका अध्यक्ष ओम जैसीले बताए ।

    अध्यक्ष जैसीका अनुसार अडिसन रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा र गुल्मीबाट गरी ४७ जनाको सहभागीता थियो । जसमध्ये ३० जना छनौट भएको उनले जानकारी दिए ।कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वुमन इमपावरमेन्ट चेयर अमृता भुसाल, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    अडिसनमा निर्णायक उकेश मान ज्ञवाली (मिस्टर लुम्बिनी–२०१८), आमिसा थापा (मिस पश्चिमाञ्चल–२०२१) तथा कोरियोग्राफर, मुना राना (फेशन डिजाईनर), लिटिल एन्जल्स स्कूलका प्राचार्य सुमन गोपाल र गायिका देबिका बन्दनाको विशेष उपस्थिति रहेको आयोजकले जनाएका छन् ।

    कार्यक्रमको मुख्य प्रायोजन ज्ञानु गोबिन्द रोटरी चेरिटेबल फाउण्डेशन र सह–प्रायोजन माया तेलले गरेको छ । त्यस्तै बैंकिङ पार्टनर लक्ष्मी विकास बैंक, ट्राभल पार्टनर प्रिया इन्टरनेशनल टुर एण्ड ट्राभल्स, टे«निङ हल पार्टनर होटल एसियन बुद्ध होटल, हस्पिटालिटी पार्टनर मौर्य होटल र रेष्टुरेण्ट पार्टनर होटल ल्याण्डमार्क रहेका छन् ।

    महिला सशक्तिकरण र क्लबको उचाईलाई अझ माथि पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ओम जैसीले बताए । प्रतियोगिताको विजेताले क्राउनसहित रु. ५१ हजार, फस्ट रनरअपले रु. ३१ हजार र सेकेण्ड रनरअपले रु. २१ हजार पुरस्कार पाउने उनले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न करिब २३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएका छन् ।

    सन् १९९६ सालमा स्थापना भएको रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर भैरहवाको पहिलो रोटरी क्लब हो । यसको संस्थापक अध्यक्ष अर्जुन विक्रम शाह हुन् ।