
मंगलवार , आश्विन २२, २०८१
भैरहवा, २२ असोज । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले सोमबार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजयी दशमी, दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा कार्यक्रम गरिएको संगठनका अध्यक्ष राम प्रसाद पोखरेलले बताए । संगठनले होटल व्यवसायीको आवाज बुलन्द गर्नुका साथै सामाजिक कार्यलाई पनि अघि बढाएको पोखरेलले बताए । उनले भने, ‘अरुको देखासिकी नगरौं, कर्जा लिएर नभइ जे छ त्यसैमा सन्तुष्ट भएर चाडपर्व मनाऔं ।’ संगठनमा हाल ३५० जना व्यवसायीहरु आबद्ध रहेको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले मानिसको कपडा मात्र नभइ मन पनि सफा हुनुपर्ने बताए । उनले नगरपालिकाले कानूनको परिधिभित्र रहेर काम गर्दै आएको बताए । उनले भने, ‘सोच ठूलो हुनुपर्छ ।’ उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हुने दबाबमूलक कार्यक्रममा आफू अग्रपंक्तिमा उभिने बताए ।
नगर उपप्रमुख उमा अधिकारीले होटलले आउने पाहुनाहरुको रेकर्ड राख्नुपर्ने बताइन् । उनले भनिन्, ‘सरसफाईमा ध्यान दिनुपर्छ । स्पा राम्रो हो । तर, स्पाको नाममा गलत गतिविधि गर्न पाइँदैन । ’
पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले भनिन्, आर्थिक मन्दी हट्दै जाओस् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलोस् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले चाडपर्वसँगै नकारात्मक कुरा हटाउनुपर्ने बताए ।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यहाँका जनताको भविष्य भएको बताए ।
भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले मुलुकमा समस्यै समस्या रहेको बताए । उनले केही हुन्छ भन्ने आशा रहेको बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्व, ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, ८ का अध्यक्ष राजनजंग राणा, वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढा, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्री, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, लिडरसीप स्किल्स डेभलपमेन्ट टे«निङ (एसएसडीटी) का संस्थापक विजय पाण्डे, मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष बाबुराम पाण्डे, संस्थापक अध्यक्ष केशवराज ज्ञवाली लगायतले बोलेका थिए ।
कार्यक्रम संयोजक एवं होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका कार्यसमिति सदस्य सुमन न्यौपानेको स्वागत, वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईको धन्यवाद ज्ञापन तथा कार्यसमिति सदस्य अर्जुन गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij