२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

रूपन्देहीका पाँच स्थानमा यात्रु सहायता कक्ष

मंगलवार , आश्विन २२, २०८१

  • 691
    Shares
  • 691
    Shares
  • भैरहवा, २२ असोज । रुपन्देहीको भैरहवास्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गर्दा चालकहरुलाई माला लगाइदिएर उद्घाटन गरियो । उनीहरुलाई सवारी चलाउँदा सावधानी अपनाउन र यात्रुलाई सम्मानपूर्वक व्यवहार गर्न सिकाइयो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ, रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख (एसपी) रञ्जित सिंह राठौर लगायतले चालकलाई माला लगाइदिएर यात्रु सहायता कक्ष उद्घाटन गरेका हुन् ।

    यात्रु सहायता कक्ष स्थापना गर्दा यस्तो सम्मानले चालकहरुको मनोबल बलियो बनाउँछ भनेर माला लगाइदिएर हौसला बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

    नेपालीहरुको महान पर्व विजया दशमी, तिहार, छठ लगायतका पर्वहरु नजिकिँदै छन् । पर्वका बेला रोजगारीका लागि विदेशिएकाहरु घर फर्कन्छन् । यस्तो बेला नागरिकले सीमा क्षेत्र, बसपार्कहरुमा अनेक समस्या भोग्दै आएका छन् । अर्कातर्फ चाडपर्वमा सवारी चाप बढ्ने र चालकको लापरवाहीले वर्षेनी दुर्घटना भइरहेका छन् । यसलाई रोक्न तथा एकीकृत सेवा प्रदान गरीे नागरिकलाई गन्तव्यसम्म पुर्याउन सहजीकरण गर्ने उद्देश्यसहित जिल्लाका सीमा नाका, बसपार्क र धेरै भिडभाड हुने स्थानहरुमा नागरिक सहायक कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

    जिल्ला प्रशासन, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतको पहलमा सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षमा स्वास्थ्य जाँचदेखि औषधिसम्म एकीकृत सेवा प्रदान गरिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधरणसहित आम नागरिकलाई सहयोग पुग्ने विश्वास छ ।

    रुपन्देहीमा पाँचठाउँमा सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको बेलहिया, बुटवल बसपार्क, भैरहवा बसपार्क, लुम्बिनी पर्साचोक र कालिदहमा नाकामा सहायता कक्ष स्थापना गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी राठौरले बताए । सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायातका प्रतिनिधि र स्वास्थ्यकर्मी नियमित खटिने उनले जनाए । सहायता कक्ष छठ पर्वसम्मै राखिनेछ । उनले कुनै समस्या परे सहायता कक्ष वा बाटो उभिएका प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरे ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले चालक र सह–चालकलाई उच्च सम्मान गर्दै उनीहरुलाई आफ्नो दायित्व र जिम्मेवारीको बोध गराउनुपर्ने बताए ।

    सहायता कक्षमा चालक र सह–चालकको दैनिक रुपमा र यात्रु, पर्यटक सर्वसाधारणको आवश्यकताका आधारमा स्वास्थ्य जाँच गरिनेछ । चालक र सह–चालकको मापसे र लापसे (लापरवाही गरे–नगरेको) परीक्षण हुनेछ । बिरामी भेटिए अस्पताल पठाइनेछ । यससँगै, ट्राफिक नियमबारे सचेत बनाइनेछ भने विभिन्न गन्तव्यसम्मको भाडादर बारे जानकारी गराइनेछ । भाडा बढी लिएमा, यात्रामा कर्मचारीबाट दुव्र्यवहार भएमा, एउटै टिकट एक भन्दा बढी यात्रुलाई बेचेमा, चोरी वा लुटपाट भएमा सहायता प्रदान गरिने रुपन्देही प्रहरी प्रमुख एसपी राठौरले बताए ।

    पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यात्रुलाई सहजरुपमा गन्तव्यसम्म पुग्न सवारीको समस्या नहुने बताए । उनले चौबीसै घण्टा सेवा दिने गरी यातायातको व्यवस्था मिलाइएको जनाउँदै सुरक्षित यात्राका लागि आफूहरु चनाखो रहेको जनाए ।

    सहायता कक्षमार्फत् चाडपर्वको बेला बाह्य तथा आन्तरिक यात्रुहरूको आवागमन सुरक्षित गराउन, सीमा क्षेत्र र आन्तरिक यात्रामा हुनसको झन्झट र अवान्छित गतिविधि नियन्त्रण गर्न, यात्रुहरुलाई गन्तव्यमा सुरक्षित पुर्याउने जिम्मेवारी लिएका चालक र सह–चालकलाई उनीहरुको पेशाको सम्मान गर्नुपर्ने भावना जागृत गराउन, नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्न यातायात व्यवसायी, प्रहरी र सरोकारवालाको भूमिका प्रभावकारी बनाउन र दुव्र्यवहार, दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेछ ।