२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

यस्ता छन् रूपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

शुक्रवार , आश्विन १८, २०८१

  • 934
    Shares
  • 934
    Shares
  • भैरहवा, १८ असोज ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार भैरहवामा पत्रकार भेटघाट कार्यक्रम गरी दशैं, तिहार तथा छठपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

    उक्त अवधिभरीमा जिल्लाभर १ हजार जना प्रहरी कर्मचारी खटिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले बताए । एसपी राठौरका अनुसार पिकेट ४३ स्थानमा, ट्राफिक प्रहरी समेत रहने गरी मादकपदार्थ सेवन (मापसे)/लागूपदार्थ सेवन (लापसे) चेक प्वाइन्ट ११ स्थानमा रहनेछ । त्यस्तै मोबाइल गस्ती १७ वटा, क्वीक रेस्पोन्स टीम (क्यूआरटी) मोटरसाइकल/साइकल गस्ती ४९ वटा, पैदल गस्ती १८ वटा, बेलहिया, बुटवल, भैरहवा बसपार्क, लुम्बिनी र कालिदहमा ट्राफिक प्रहरी समेत रहने गरी यात्रु सहायता कक्ष र सीमा नाकाहरुमा तस्करी नियन्त्रणका लागि २४ स्थानहरुमा चेकिङ हुनेछ ।

    त्यस्तै यो अवधिमा चोरी लगायत अन्य अपराधसम्बन्धी सचेतनामूलक जिंगल बजाउने, सचेतनामूलक पर्चा पम्पलेट वितरण गर्ने, माईकिङ गर्ने, आर्थिक कारोबार हुने स्थानहरुमा प्रहरीको उपस्थिति बढाउने, भारतीय सीमा नाकाहरुका साथै अन्य स्थानहरुमा पनि कुकुर परिचालन गरी चेकजाँच गर्ने योजनामा समावेश छ ।

    ‘सीमा नाका तथा भिडभाड हुने स्थानहरुमा आवश्यकता अनुसार ड्रोन क्यामेराद्वारा निगरानी गरिनेछ, एसपी राठौरले भने–सार्वजिक सवारीसाधनहरुमा सादा पोशाकमा प्रहरी परिचालन गरिनेछ ।’

    चाडपर्वमा चोरी, पाकेटमारी, ठगी, कुटपिट, झै–झगडा, जुवातास, सवारी भाडा वृद्धि, सवारी दुर्घटना, ध्वनी प्रदुषण, कालोबजारी, खाद्यपदार्थको कृत्रिम अभाव, विष्फोटक पदार्थको अवैध कारोबार, घरेलु मदिराको प्रयोग, सार्वजनिक यातायातमा महिला हिंसा तथा दुव्र्यवहार, तस्कारी, अवैध चोरी, निकासी, पैठारी, साईबर अपराध, विपदजन्य घटना हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैह्रेले बताए । उनले कुनै घटना भए प्रहरीलाई सूचना उपलब्ध गराउन आग्रह गरे ।