२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनुपर्छ : अर्थमन्त्री पौडेल

बिहिवार , आश्विन १०, २०८१

बेईजिङ, १० असोज ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ्बीच बेईजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ । सो अवसरमा उपप्रधानमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवं विशेषता अनुरुप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरे । उनले पूर्वाधार विकास, गरिबी निवारण लगायत अर्थतन्त्रमा चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनुपर्ने विचार व्यक्त गरे । 

त्यस्तै चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना व्यक्त गरे । उनले नेपालको विकास प्रयासमा चीन सधै साथमा रहेको र विगतका सहमति तथा समझदारीहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने जानकारी दिए । 

बिहीबार नै उपप्रधानमन्त्री तथा अर्थमन्त्री  पौडेल र चाईना ईन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) अध्यक्ष लुओ चाओहुबीच भेटवार्ता भएको थियो । त्यसक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासमा सिड्काको योगदानको प्रशंसा गरेका थिए । उनले विगतमा भएका सहमति तथा सम्झौताहरूको कार्यान्वयनका लागि आपसी सहमतिमा समयबद्ध कार्यतालिका निर्माण गर्न जोड दिनुका साथै आगामी दिनमा अझ महत्वपूर्ण सहयोगका लागि अनुरोध गरे । 

सिड्काका अध्यक्षले पूर्वसहमति कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्ने जानकारी दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बुधबार चीनका अर्का उपप्रधानमन्त्री हि लिफेङसँग भेटवार्ता गरेका थिए ।