२०८२, चैत्र ३ गते

Mar 17 2026 | २०८२, चैत्र ३ गते

सुस्ताका किसानको हातमा जग्गाको लालपुर्जा हुनुपर्छ : मुख्यमन्त्री आचार्य

बिहिवार , आश्विन १०, २०८१

  • 907
    Shares
  • 907
    Shares
  • नवलपरासी, १० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसानहरु अहिले पनि जग्गाको लालपूर्जाबिहीन हुनुपरेकोतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । खेतीपाती गर्दै आएका किसानहरु अहिले पनि जग्गाको लालपूर्जाबिहीन हुनुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै छिटो लालपूर्जा वितरणको लागि आग्रह गरेका हुन्।

    सुस्तास्थित नारायणी नदीमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुस्ता क्षेत्रका किसानको समस्या समाधान गरिने बताएका हुन् । ‘अहिले पनि सुस्ताका किसानको हातमा जग्गाको लालपुर्जा छैन । नागरिकताको समस्या उस्तै छ’उनले भने–‘यहाँका किसानहरुको समस्या समाधान गर्न म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । प्रदेश सरकारबाट हुने हरेक कामहरुमा सुस्ता क्षेत्र प्राथमिकतामा छ, प्राथमिकतामा पर्ने छ ।’

    त्यस्तै मुख्यमन्त्री आचार्यले नारायणी नदिमा बनेको झोलुंगे पुलले सुस्तामा बसोवास गर्नेहरुलाइ सबै हिसाबले समृद्ध बनाउने आशा व्यक्त गरे । ‘शिक्षा, स्वास्थ्य, कृषि र अन्य सुविधामा अब सुस्ता क्षेत्र अघि बढ्यो’उनले भने–‘अब सुरक्षित यात्रा सम्भव भयो । अब पर्यटनको क्षेत्रमा पनि यहाँको नाम अघि आउने भयो ।’

    राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा बनेको झोलुंगे पुलेको उद्घाटन गरिसकेका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुलको उद्घाटन गरिएको हो ।

    साथै सुस्ता क्षेत्रमा एकिकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति समेत शुभारम्भ गरिएको छ ।

    नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको छ । कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगर, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागीता छ ।

    झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ । सुस्ता क्षेत्रमा ३ सय ५० घरधुरीको बसोवास छ । यो पुल बन्नु अघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । वर्षायाममा उच्च वहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो । 

    WhatsApp Image 2024-09-26 at 2.20.05 PM.jpeg

    डुंगा दुर्घटना हुदा मानवीय क्षति समेत व्यहोर्नुपरेको थियो । १ हजार ५ सय ७१ मिटर लामो झोलुंगे पुल भ्याट बाहेक रु. २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो । यो पुल बनेपछि सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ । यो पुलको दायाँ किनारमा सकरदिनही र बायाँ किनारमा सुस्ता पर्दछ ।