२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पदाधिकारीमाथि गरिएको हातपातप्रति कोषको ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग

बुधवार , आश्विन ९, २०८१

लुम्बिनी, ९ असोज । 
लुम्बिनी विकास कोषले निर्माण व्यवसायीसँग सम्बन्धित व्यक्तिबाट पदाधिकारीलाई गालीगलौजसहित लछारपछार गर्दै कुटपिट गरेको घटनामा खेद प्रकट गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ । 

कोषका सदस्य सचिव सानुराजा शाक्यले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी भगवान गौतमबुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्यै निन्दनीय र खेदजनक रहेको भन्दै अभद्र गालीगलौज, हातपातमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्न सरकारसँग माग गरेका हुन् । 

‘राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीयहरु र  कोषको संयुक्त आयोजनामा लुम्बिनी विकास कोषको कार्यान्वयन प्रगति अवस्था, आयोजना सम्पन्न गर्न देखा परेका समस्या, चुनौती र सम्पदा संरक्षण, सम्बर्द्धनको अवस्था लगायत समग्र लुम्बिनी क्षेत्रको विकास विषयक सरोकार पक्षसहितको सहभागीतामा अन्तरक्रिया कार्यक्रम लुम्बिनीस्थित होटल फाइभ ईलेमेन्टस्मा सम्पन्न गरी बाहिर निस्कने क्रममा होटल परिसरमै निर्माण व्यवसायीसँग सम्बन्धित केही व्यक्तिहरु आई हुलहुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गालीगलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट समेत गरेको घटनाले यस भगवान गौतमबुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्यै निन्दनीय र खेदजनक छ । लुम्बिनी विकास कोष यस्तो अभद्र गालीगलौज, हातपातमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्न नेपाल सरकारसँग माग गर्दछ’ विज्ञप्तीमा भनिएको छ । 

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र कार्य गरिरहेका निर्माण व्यवसायीहरुको भुक्तानीको सम्बन्धमा केही दिनदेखि निर्माण व्यवसायीहरुले धर्ना गरिरहेकामा कोषको तर्फबाट समस्या समाधानका लागि निर्माण व्यवसायीसँग पटकपटक बैठक बसेको समेत विज्ञप्तीमा भनिएको छ । भुक्तानीको सहजताका लागि कोषका कोषाध्यक्षको नेतृत्वमा सदस्य सचिव र योजना प्रमुख समेत निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग असोज ७ गते दिउँसो बैठक बसी उपाध्यक्षज्यूको उपस्थितिमा भुक्तानी प्रक्रिया अगाडि बढाउने भन्ने अनौपचारिक सहमति समेत भइसकेको अवस्थामा घटना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘जहाँसम्म भुक्तानी प्रक्रियाको सन्दर्भ हो निर्माण कार्यसम्पन्न गरेका निर्माण व्यवसायिहरुलाई भुक्तानी रोक्ने कोषका पदाधिकारी तथा कर्मचारीहरुको कुनै मनसाय नरहेको व्यहोरा अनुरोध गर्दछौ’ सदस्य सचिव शाक्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कोषबाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी कार्य अगाडि बढाउन कोष सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै सोको लागि कोष भित्र कार्यस्थलमा उपस्थित भइ काम गर्ने उचित वातावरण तयार भएमा मात्र सम्भव हुने समेत जनाइएको छ ।  

‘कोष र निर्माण व्यायसायीबीच सौहार्दपूर्ण रुपमा वार्ता भइइरहेको अवस्थामा भएको यस खालको गुण्डागर्दीको भत्र्सना गर्दछौं । यस भगवान बुद्धको पवित्र जन्मस्थललाई सदाझै हरेक क्षेत्रवाट शान्तिमय वनाउन आम नागरिक, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा व्यवसायी सबैमा विनम्र अनुरोध गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।