२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

होराइजन जिविएसमा जिल्लास्तरीय कोडिङ् ओलम्पियाड सम्पन्न

शनिवार , आश्विन ५, २०८१

तिलोत्तमा, ५ असोज ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ ड्राइभरटोलस्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयमा जिल्लास्तरीय इन्टर स्कुल (कक्षा १० सम्म) कोडिङ् ओलम्पियाड सम्पन्न भएको छ । विद्यार्थीहरूलाई आई.टी. सम्बन्धी सैद्वान्तिक ज्ञानका अतिरिक्त रियल टाइम प्रयोगात्मक ज्ञान दिने र प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयको आई.सि.टि. क्लबका अध्यक्ष सौगात न्यौपानेले जानकारी दिए । कार्यक्रममा कक्षा ८ देखि कक्षा १० सम्म अध्ययनरत करिब ७० जना विद्यार्थीहरूको सहभागीता रहेको थियो । कार्यक्रम बिहान ११ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म सञ्चालन भएको थियो । 

आईसिटी क्लबका अध्यक्ष सौगात न्यौपानेको अध्यक्षता, क्यान महासंघ रुपन्देहीका पूर्वअध्यक्ष नारायण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, आईसिटी क्लबका उपाध्यक्ष प्रतिक पाण्डेको स्वागत तथा क्लबका सचिव सजल खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्य, उपप्राचार्य इन्द्रप्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, प्राध्यापक डा.नारायण प्रसाद पन्थ, प्रदिप अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठ, सञ्चालक महेन्द्र कुमार अमात्य, आमुल श्रेष्ठ, राजिव श्रेष्ठ लगायत शिक्षक, कर्मचारी र प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक प्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै विद्यालय प्राचार्य गोपाल प्रसाद आचार्यले यो ए.आई. को युग भएको हुँदा आई.टी. सम्बन्धी व्यवहारिक तालिमहरू, आई.टी सम्बन्धी विभिन्न किसिमका प्रतियोगिता विद्यार्थीहरूका लागि अपरिहार्य रहेको बताए । उनले होराइजन गौतम बुद्ध मा.वि.ले हरेक वर्ष आई.टी. सम्बन्धी तालिम तथा प्रतियोगिता गराउँदै आएकोमा यसपटक होराइजन जिविएस आईसिटी क्लबलाई गर र सिक भन्दै अगाडी सारिएको बताए । उनले सम्पूर्ण कम्प्युटर विभागका शिक्षकहरुले कार्यक्रमको संयोजन गर्नुभएको जानकारी दिए ।

कम्प्युटर विषयका विषय विभागीय प्रमुख माधव अर्यालले विद्यालयमा रहेको आईसिटी क्लबले आयोजना गरेको यो कार्यक्रमले विद्यार्थीहरूलाई दिशानिर्देश गर्ने कार्यमा सहजीकरण भएको बताए ।  पुस्तकमा पढेका कुरा र आईटी सम्बन्धी अतिरिक्त ज्ञान हासिल गर्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने क्षमता विकास गर्नेतर्फ विद्यार्थी अग्रसर बन्न सकुन् भन्ने उद्देश्यका साथ सञ्चालन भएको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको उनले बताए । सहभागी विद्यालयका शिक्षक प्रतिनिधि द वल्र्ड भिजन स्कूलका कम्प्युटर शिक्षक अशोक ज्ञवालीले कार्यक्रम अत्यन्त सराहनीय रहेको बताए ।

होराइजन गोतम बुद्ध मा.वि.का उपप्राचार्य इन्द्र भुसालले विद्यार्थीहरूको व्यवहारिक सिकाइका निम्ति विद्यालयले लेखा तालिम, शेयर सम्बन्धी तालिम, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तालिम, फूड फेस्टिबल, गायन आइडल, डान्स प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन गरिसकेको बताए । उनले यसपटक आईसिटी क्लबलाई सहजीकरण गर्दै कोडिङ् सम्बन्धी प्रतियोगिता राखिएको बताए । उनले विद्यार्थीहरूलाई प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गराउनुका साथै आई टी सम्बन्धी अभिरुची बढाउन यो प्रतियोगिता फलदायी भएको बताए ।

प्रमुख अतिथिको क्यान महासंघका केन्द्रीय सचिव नारायण प्रसाद श्रेष्ठले क्यान महासंघले सूचना प्रविधि सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आएको विद्यालय तथा कलेजहरुद्वारा सूचना प्रविधि सम्बन्धी गरिने हरेक कार्यक्रमलाई प्रवद्र्धन गर्दै आइरहेको बताए । उनले यस्तो कार्यक्रम आयोजना गरेकामा विद्यालय तथा आइसिटी क्लबलाई धन्यवाद दिए । 

कार्यक्रममा निर्णायकको भुमिकामा प्राध्यापक, ई. अर्जुन अर्याल, ई. दिपेन्द्र सापकोटा र ई.विजय पराजुली रहेका थिए । 

कार्यक्रममा एभरेष्ट ईङलिस .बोर्डिङ स्कूल बुटवलबाट सहभागी आयुश्मा न्यौपाने र पवन भण्डारीको टीमले प्रथम स्थान हासिल गरेको थियो । न्यू होराइजन ईङलिस स्कूल बुटवलबाट सहभागी उम्साना थापा र किस्मत डुम्रेको टीम द्वितीय र न्यू होराइजन ई.बो.स्कुलबाठ सहभागी प्रिन्स खत्री र सिर्जल अधिकारीको टीमले तृतीय स्थान हासिल गरेको थियो । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई क्रमशः नगद रु.५ हजार, रु. ३ हजार र रु.२ हजार तथा मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।