२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नेपाल वैश्य युवा संघ रुपन्देहीद्वारा वृक्षारोपण

मंगलवार , आश्विन १, २०८१

भैरहवा, १ असोज ।
नेपाल वैश्य युवा संघ जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा वृक्षारोपण कार्यक्रम गरेको छ । संघले सोमबार सिद्धार्थनगर नगरपालिका–४ स्थित राम जानकी हनुमान परिसरमा वृक्षारोपण गरेको कार्यक्रम संयोजक विष्णु रौनियारले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल वैश्य युवा संघ लुम्बिनी प्रदेशका संयोजक अमित कुमार गुप्ताले वैश्य समाज एकजुट हुन आवश्यक रहेको बताए । उनले भने, ‘जसरी विरुवा रोपेर यसको संरक्षण गर्छौं, त्यसरी समाजलाई बलियो बनाउनुपर्छ ।’ वैश्य समाजको अधिकार सुनिश्चित गराउन अघि बढ्नुपर्ने उनको भनाइ थियो । श्री राम जानकी हनुमान मन्दिरमा सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । जयसवाल सेवा समिति रुपन्देहीका अध्यक्ष समेत रहेका युवा समाजसेवी गुप्ताले पछिल्लो समय विदेश पलायन हुने युवाको संख्या बढेको भन्दै चिन्ता व्यक्त गरे ।

वैश्य युवा संघ रुपन्देहीका अध्यक्ष तारकेश्वर कान्दुले भने, ‘आजको यो उपस्थितिले निकै खुसी भएको छु । आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्छौं । ’ मन्दिर परिसरमा ६० वटा विरुवा रोपिएको अध्यक्ष कान्दुले जानकारी दिए ।

रौनियार समाजका अध्यक्ष तथा श्री राम जानकी हनुमान मन्दिर समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले एक–अर्काको खुट्टा तान्न नहुने बताए । उनले भने, ‘मन मिलाएर अघि बढौं ।’ 

समाजसेवी तथा उद्योगी भैरव प्रसाद कलवारले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन नेपाल वैश्य युवा संघ रुपन्देहीलाई आग्रह गरे । उनले वृक्षारोपणसँगै रोपिएका विरुवाहरुको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

नेपाल वैश्य युवा संघका केन्द्रीय सल्लाहकार राजेन्द्र गुप्ताले वैश्य समाज एकजुट हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले भने, ‘हामी सम्पूर्ण वैश्य समाज कश्यस गोत्रका सन्तान हौं ।’

वैश्य युवा संघ, रुपन्देहीका सल्लाहकार श्रीराम गुप्ताले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

साहू–तेली कल्याण सेवा समिति रुपन्देहीका वरिष्ठ उपाध्यक्ष त्रिलोकी प्रसाद गुप्ताले नेपाल वैश्य युवा संघ रुपन्देहीले समयसमयमा सामाजिक कार्य गर्दै आएको बताए । 

वैश्य युवा संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष गणेश गुप्ताको स्वागत तथा जिल्ला कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ताको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य कैलाश गुप्ता, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

IMG_8500.JPG
IMG_8516.JPG
IMG_8509.JPG