
सोमवार , भाद्र २४, २०८१
भैरहवा, २४ भदौ ।
रुपन्देहीको भैरहवामा सोमबार सम्पन्न खुल्ला मिनी म्याराथन धावक धनु मानन्धरले जितेका छन् । १११ औं विपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस, रुपन्देहीले भैरहवामा खुल्ला मिनि म्याराथन सम्पन्न गरेको छ । ५ किलोमिटरको दौड (मिनी म्याराथन) मा धावक धनु मानन्धरले १५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै प्रथम भए । उनी पोखरा निवासी हुन् ।
त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिकाका उमेश बरईले १६ मिनेट ४ सेकेण्ड र रुपन्देहीकै सियारी गाउँपालिकाका अजय पाण्डेले १६ मिनेट २५ सेकेण्डमा दूरी पार गर्दै दोस्रो र तेस्रो भए । मनोज केवटले सान्त्वना पुरस्कार जिते ।
महिलातर्फ कालीभक्त गणकी सरिता कुमारी बस्नेत २१ मिनेट २९.४४ सेकेण्डमा पूरा गर्दै प्रथम भइन् । कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेण्डमा उक्त दुरी पार गरिन् । विपना केसीले २१ मिनेट ४४ सेकेण्ड दूरी पूरा गरी तेस्रो भइन् । विन्दु थापाले सान्त्वना पुरस्कार जितिन । महिलातर्फ दोस्रोबाहेक सबै पुरस्कार सेनाले हात पारेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु.१० हजार, दोस्रोलाई रु. ५, तेस्रो हुनेलाई रु. ३ हजार नगदसहित मेडल प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै सान्त्वना हुनेलाई रु. १ हजार ५ नगदसहित मेडल प्रदान गरिएको नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सदस्य तथा कार्यक्रम संयोजक ओम कुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा सहभागी भएकामध्ये हरिचन्द्र श्रेष्ठ (५८), मयंक अग्रवाल (११) र सादिक पठान (११) लाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । विजयी धावकलाई काँग्रेस केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाक, रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँण, कार्यक्रम संयोजक ओमकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा करिब ४ सय ५० जनाको सहभागीता रहेको आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij