२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

२२ औं लिस्नु कप–२०८१ भदौ २२ देखि

शुक्रवार , भाद्र १४, २०८१

  • 811
    Shares
  • 811
    Shares
  • भैरहवा, १४ भदौ । 
    जिल्लाको चर्चित फुटबल प्रतियोगिता २२ औं लिस्नु कप २०८१ यही भदौ २२ गते शनिबारदेखि सञ्चालन हुने भएको छ । लिस्नु युवा क्लब तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीको आयोजनामा पशुपति उच्च माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा उत्कृष्ट १२ वटा टीमले प्रतिष्पर्धा गर्दैछन् ।

    शुक्रबार क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगिताको उपाधि विजेता टीमले ३ लाख २५ हजार रुपैयाँ नगद तथा शिल्ड र उपविजेता टीमले १ लाख ६५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ । 

    त्यसै गरी हरेक विधाका उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ र प्रत्येक खेलमा म्यान अफ द म्याचबाट उत्कृष्ट खेलाडीलाई ४ हजार रुपैयाँ पुरस्कार दिइने क्लबका अध्यक्ष तिर्थराज मल्ले जानकारी दिए । २२ लाख रुपैयाँ बढी खर्च अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमा स्थानीय समाजसेवी स्वर्गीय कमलराज पाठकको स्मृतिमा उनको परिवारले सहयोग गरेको छ । 

    क्वाटर फाइनलसम्म दर्शकका लागि रु. १ सय र सेमीफाइनल तथा फाइनल खेल हेर्न रु. २ सय टिकट शुल्क तोकिएको छ । महिलालाई विशेष आकर्षित गर्न क्वाटर फाइनलसम्म निःशुल्क र सेमीफाइनलपछि ५० प्रतिशत छुट गरिएको कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिए ।

    प्रतियोगितामा आयोजकसहित नव युवा खेलकुद तथा साँस्कृतिक परिवार, संजीवनी युवा क्लब, गोर्खा व्वाईज बुटवल, झरना स्पोर्टस क्लब, फर्साटिकर फुटवल क्लब, कपिलवस्तु–११, देवदह ब्वायज क्लब, नवलपरासी ११, पाल्पा ११, वालिङ्ग ११ स्याङ्गजा, समपुर्ण युवा क्लब तिलोत्तमाले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल असोज ३ गते हुनेछ ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष खेमराज गुरुङले लिस्नु कप फुटवल तिलोत्तमा मात्र नभइ रुपन्देहीको गहना भएको बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता कोसेढुंगा सावित हुने दावी गरे । 

    क्लबका अध्यक्ष तीर्थराज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका उपाध्यक्ष कृष्ण गुरुङ, कोषाध्यक्ष प्रकाश पाण्डे क्षेत्री, सचिव मनोज कुमार क्षेत्रीलगायतले प्रतियोगिताबारे जानकारी दिएका थिए ।